काठमाण्डौ । धनाढ्यहरुलाई कार खरीद गर्नु सामान्य कुरा होला, तर कतिपय मध्यमस्तरका परिवार वा व्यक्ति यस्ता छन्, जसले निकै मेहेनत गरेर कार खरीद गर्ने सपना पूरा गरेका हुन्छन् । कारले तपाईलाई सुविधाजनक यात्राको आनन्द दिन्छ, तर कतिपय अवस्थामा कार भएकै कारण तनावको अवस्था पनि आउनसक्छ । तपाईलाई आरामदायी यात्राको आनन्द दिने कारको हेरविचारमा भने तपाईको पर्याप्त ध्यान नपुुगेको हुनसक्छ । सानो भन्दा सोनो गल्ती तथा बेवास्ताले समेत तपाईको बाहनको आयुु घटिरहेको हुनस्क्छ । हामीले पनि अञ्जानमै यस्ता गल्ती गरिरहेका हुन्छौ, जसका कारण कारको प्रदर्शन तथा त्यसको इञ्जिनमा निकै नराम्रो असर परिरहेको हुन्छ । जब यसको परिणाम आउँछ, तब हामीले कि त यसबापत निकै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ वा निकै ठूलो झञ्झट समेत व्यहोर्नुपर्ने हुनसक्छ । हामीले अञ्जानमै कस्ता–कस्ता गल्ती गरिरहेका हुन्छौ त, जसका कारण कारमा नकारात्मक प्रभाव परिरहेको हुन्छ ? बुँदागत रुपमा हेरौं :

१.चेक इञ्जिन लाइटको बेवास्ता गर्नु
यदि तपाईले लगातार चेक इञ्जिन लाइटलाई बेवास्ता गर्नुभयो भने निश्चित हुनुुहोस् यसबाट उत्पन्न हुने परिणामका कारण तपाईले निकै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । यदि चेतावनी लाइट(सिग्नल) पटक–पटक बलिरहेको छ भने बुुझ्नुुपर्छ कि कारको इञ्जिनमा कुनै न कुनै समस्या भइरहेको छ वा हुनेवाला छ । 

२.गाडीको लिक्वीड वा फिल्टर चेक नगर्नु
गाडीमा भरिएको फ्लूड्स तपाईले अनुमान गरेभन्दा पहिला नै सुक्न सक्छ । मानिस सानो खर्चलाई बेवास्ता गर्दै गाडीको फ्लूड्स कुन स्तरमा चलिरहेको छ भनेर जाँच गर्दैनन् । यो लिक्वीड(तरल पदार्थ) इञ्जिनको संरक्षणका लागि निकै महत्वपूर्ण हुन्छ । यस अलावा फिल्टरमा पनि हमेसा ध्यान दिनुपर्छ । इञ्जिनको सुरक्षाका लागि यी दुुई चिज हेर्नैपर्ने पक्षहरु हुन् । 

३. जाडोयाममा स्टार्टमा समय नदिने
यदि तपाई बसेको ठाउँमा निकै जाडो छ भने यस्तो मौसममा गाडीको इञ्जिन चालुु गर्न २ मिनेटसम्मको समय दिनुपर्छ । डिजल वा ठूला गाडीहरुका लागि त कम्तीमा ५ मिनेट समय दिनुपर्छ, ताकि गाडीको इञ्जिन तात्तियोस् । त्यसकारण जाडो मौसममा गाडी स्टार्ट गरेलगत्तै यात्रा थाल्दा यो हतारोले गाडीको इञ्जिनमा नराम्रो असर पुुग्छ । 

४.टायरमा ध्यान नदिनु
धेरैजसो कार मालिकको एउटै प्रवृति हुन्छ–‘यत्तिको त चलिहाल्छ नि’ । तर, कार मालिकले आफ्नो गाडीको अवस्था कस्तो छ भनेर बारम्बार चेक गरिरहनुुपर्छ । यसमध्ये टायर तथा हावाको समेत जाँच गरिरहनुुपर्छ । यदि हावा कम छ भने यसले टायरलाई चाँडै खराब बनाइदिन्छ र माइलेज समेत घट्नेछ । किनभने हावा कम हुँदा इञ्जिनमा बढी दवाब पुुग्छ । टायरको अवस्था खराब छ भने सुरक्षाको हिसाबले समेत यो खतरनाक पक्ष हो । 

५.सुरुमै तेज गाडी हाक्ने प्रवृति
गलत गियरमा गाडी चलाउँदा यसबाट इञ्जिन प्रभावित हुन्छ । गाडीलाई सुरुवातमै रफ्तार दिनका लागि मानिसहरु थोरै गियरमै गाडीलाई हुुइँक्याउन खोज्छन् । यसो गर्दा गाडी सुरुवातमै तीव्र गतिमा दौडन थाल्छ र दोश्रो तथा तेश्रो गियरमा अझ तेज गतिमा कुद्न थाल्छ । तर, यसले इञ्जिनमा निकै ठूलो र गहिरो असर पार्दछ । 

६.मर्मत तालिका फलो नगर्नु
कारलाई समय–समयमा चेक गराउनुपर्छ । केही बडी पार्ट यस्ता छन्, जुन समय बित्दै जाँदा पुरानो हुँदै जान्छन् । त्यस्ता सामान धेरै पुरानो भएर भाँचिने वा बिग्रिने(फूट्ने) अवस्था आउन दिनुुहुन्न । यस्ता पार्टसहरुको बिषयमा ध्यान दिइएन भने काम त गरिरहेकै हुन्छन्, तर त्यसको परफरमेन्स(प्रदर्शन) भने निकै कमजोर हुन्छ । कम परफरमेन्स दिइरहेको बडी पार्टस्ले अन्ततः तपाईको कारलाई नै निकै ठूलो नोक्सान पुर्याइरहेको हुन्छ । यस्ता साना कुरामा ध्यान नदिंदा सानो रकमको लोभले ठूलो खर्चलाई निम्ता दिइरहेको हुन्छ । 

७.कारलाई सफा नगर्नु
कतिपय मानिसहरु कारको बाहिरी सौन्दर्य नै बिग्रिञ्जेलसम्म पनि कार धुँदैनन् । खिया लागुञ्जेलसम्म पनि सरसफाई गरेका देखिदैन । कार फोहोर हुनुु भनेको धूलोमैलो तथा अन्य केमिकल यसको पार्टसहरुमा रहेका छन् भन्ने हो, जसले कारको उमेर नै घटाइदिन्छ । उदाहरणका लागि यदि तपाईको वाइपर धेरैदिनसम्म सफा छैन र त्यसलाई सफा नगरी प्रयोग गर्न खोज्नुुभयो भने त्यसमा अड्किएका चिजहरुले तपाईको अगाडिको भागको सिसा नै खराब गरिदिनसक्छ । कार अगाडिको सिसामा कुनै दाग लाग्यो भने अगाडिबाट आएको सूूर्यको प्रकाश त्यही आएपछि फैलिन्छ र चालकको आँखा अगाडि ब्ल्याकआउट हुन्छ । त्यसकारण फोहोर भरिएको वाइपरलाई बेला बेलामा सफा गर्नुभएन भने यसले दुुर्घटनाको खतरा बढाइदिनसक्छ । 

८.हरेक मौसममा एकैखालको ड्राइभिङ
कतिपय मानिसहरुको कार चलाउँदाको रफ्तार, शैली तथा तरिका जस्तोसुकै मौसम, परिस्थिति वा अवस्थामा समेत एउटै हुन्छ । यो राम्रो बानी होइन । मौसम जस्तोसुकै होस्, सडक वा कारको इञ्जिन जस्तोसुकै होस्, एउटै विधिबाट कार चलाउने गल्ती गर्नुहुन्न । तपाईले मौसम, सडकको अवस्था, दिन तथा रात सबै कुरालाई बिचार गरेर कार चलाउनुपर्ने हुन्छ । रफ ड्राइभिङ तपाईको इञ्जिनको सबैभन्दा ठूलो शत्रूू हो । 

९.छिटो दौडने होड
कतिपय मानिसहरु सडकमा कार लिएर निस्किएपछि सबैलाई टपेर आफू अगाडि जाने ध्याउन्नमै हुन्छन् । कतिपय मानिसले यसलाई कार चलाउने क्षमतासँग जोडेर समेत हेर्ने गर्छन्, तर यो शैली गलत हो । यस्तो दौडधूपमा गाडीको गियर निकै छिटोछिटो परिवर्तन भइरहेको हुन्छ । यो अलावा क्लज र ब्रेकको समेत यस्तो बेलामा औधी प्रयोग भइरहेको हुन्छ । यसले गाडीको इञ्जिन मात्र खराब गर्दैन, समग्र आयुु पनि घटाइदिन्छ ।