काठमाण्डौ । धेरै होस् या थोरै, पैसा सबैले कमाएकै हुन्छन् । तर, कतिपयले कमाएको पैसाको राम्रो व्यवस्थापन गर्छन् भने कतिपयले गर्न सक्दैनन् । 

आफ्नो वित्तीय लक्ष्य पूरा गर्न समेत कतिपय मानिस असफल हुन्छन्, पैसा हातमा जसरी आउँछ, उसैगरी उडिरहेको हुन्छ । यदि तपाईलाई पनि यस्तै भइरहेको छ भने तपाई ‘मनि डिसअर्डर’(Money Disorder)को शिकार भइसकेको हुन सक्नुहुन्छ । अर्थात, तपाईभित्र पैसालाई राम्रोसँग सम्हाल्ने वा व्यवस्थापन गर्ने कला वा क्षमताको कमी छ । 

फाइनान्सियल साइकोलोजिस्ट(वित्तीय मनोवैज्ञानिक) ब्राड क्लोञ्जले आफ्नो पुस्तक ‘माइण्ड ओभर मनि’(Mind over Money)मा मनि–डिसअर्डरको लक्षण र त्यसको उपचारको विधि समेत बताएका छन् । हेरौं यो समस्याको लक्षण र त्यसको उपचार विधि :

१.आर्थिक निराशा (Financial Denial)
लक्षण: तपाई अति आवश्यक चिजमा वा क्रेडिट कार्डको बिल भुक्तानीका लागि पैसा खर्च गर्नुहुन्न । कतै लगानी पनि गर्नुहुन्न र तपाईको पैसा बैंकमा त्यत्तिकै थन्किन दिनुहुन्छ । कर तिर्ने तारिख समेत थप्दै जानुहुन्छ र आफ्नो पोर्टफोलियो समेत व्यवस्थापन गर्न सक्नुहुन्न । आफ्नो पैसाको सही उपयोग नगर्नु आर्थिक चिन्ताको संकेत हुनसक्छ । 
उपचार: आफ्ना सबै आर्थिक गतिविधिका लागि एक स्पष्ट तालिका बनाउनुहोस् र यसका लागि आफ्नो फोनमा रिमाइण्डर सेट गर्नुहोस् । यदि तपाई लगानीलाई लिएर चिन्तित बन्नुहुन्छ भने कुनै मनोविज्ञको सहायता समेत लिन सक्नुहुन्छ । 

२. आर्थिक अस्वीकृति (Financial Rejection)
लक्षण: तपाई आफ्ना सारा पैसा जानेर वा बुझेरै कहीँ कसैलाई दिनुहुन्छ । तपाई धेरै पैसा कमाउनुहुन्छ, तर महिनाको अन्तसम्ममा तपाईको साथमा धेरै पैसा बच्दैन, जसका कारण तपाईको आर्थिक लक्ष्य पूरा हुन पाइरहेको हुँदैन । तपाईमा आत्मसम्मान निकै कम छ र पैसा जम्मा गर्नुलाई तपाई निकै ग्लानीको विषय ठान्नुहुन्छ ।
उपचार: आफ्नो तलब पति वा पत्नीको हातमा दिनुहोस्, जसले यो समस्यालाई हल गर्न सकोस् । वा, फेरि आफ्नो सबै भुक्तानी दायीत्वहरुलाई अटोमेटिक मोडमा राख्नुहोस् । यसले तपाईको खातामा तलब आउनेबित्तिकै त्यो रकम सही ठाउँमा लगानी हुन्छ । 

३.कम खर्च गर्नु (Underspending)
लक्षण: तपाई पैसा खर्च गर्नुलाई यति धेरै फजूल सम्झनुहुन्छ कि, पैसा भएर पनि तपाई खराब जिन्दगी बाँचिरहनुभएको छ । तपाईको जिउने परिस्थिति यति धेरै खराब छ कि तपाई आफ्नो र आफ्नो परिवारको आधारभूत आवश्यकतामा समेत खर्च गर्नुहुन्न । 
उपचार: आफ्नो पति वा पत्नीलाई आफ्नो वित्तीय व्यवस्थापनको ह्याण्डल गर्न दिनुहोस् । कुनै वित्तीय सल्लाहकार वा वित्तीय मनोविज्ञसँग सल्लाह लिनुहोस् । 

४.पैसा जमाए राख्नू(Compulsive Hoarding) 
लक्षण: तपाई विभिन्न सामानजस्तै पैसालाई जम्मा मात्र गरिरहन चाहनुहुन्छ । र, आफ्नो कब्जाको चिजहरुबाट छुट्कारा पाउन अस्वीकार गर्नुहुन्छ । सामान जम्मा गर्ने तपाईको यो सनक यस्तो स्तरमा पुग्छ, जहाँ जम्मा गर्ने मात्र भूत चढेपछि घरका सामान्य आवश्यकतामा पनि ध्यान जान छाड्छ । 
उपचार: आफ्नो लगानीलाई अटोमेटिक मोडमा राख्नुहोस्, जसबाट तपाईको अकाउण्टमा स्यालरी आउनेबित्तिकै अटोमेटिक लगानी होस् । आफ्नो क्रेडिट कार्डलाई मिल्काइदिनुहोस् । 

५.कामको लत(Workaholism)
लक्षण: तपाई ब्रेक नलिई निरन्तर काममा मात्र घोटिइरहनुहुन्छ, किनकि तपाई धेरैभन्दा धेरै पैसा कमाउन चाहनुहुन्छ । तपाईको मनमा आर्थिक असुरक्षाको महसुस छ, किनभने तपाई जति बढी पैसा कमाउनुहुन्छ, उति नै राम्रो महसुस हुन्छ । 
उपचार: आफ्ना लागि साना–साना लक्ष्य बनाउनुहोस् र ती लक्ष्य पूरा गर्न तपाईलाई कति पैसा आवश्यकता पर्छ भन्ने कुरा तय गर्नुहोस् । जब तपाई कुनै एउटा लक्ष्यका लागि पैसा जुटाउनुहुन्छ, त्यसपछि केही समय रिल्याक्स गर्नुहोस् । 

६.आवश्यकताभन्दा बढी खर्च गर्नु वा जबरजस्ती बढी चिज खरीद गर्नु (Overspending or Compulsive Buying ) 
लक्षण: तपाई निकै चाँडै–चाँडै विभिन्न वस्तु खरीद गर्न चाहनुहुन्छ र उति नै खर्च गर्न पनि चाहनुहुन्छ । किनभने यो काम गर्दा तपाईलाई खुशी प्राप्त हुन्छ । तपाई अन्य समय निकै धेरै वेचैन रहनुहुन्छ र खरीद गरेपछि तपाईलाई सन्तोष प्राप्त हुन्छ । जब सपिङ गरेर घर आउनुहुन्छ, तब फेरि तपाई दुःखी हुनुहुन्छ र यो क्रम कहिल्यै सकिन्न । 
उपचार: कुनै मनोविज्ञसँग कुरा गरेर आफ्नो बेचैनी वा चिन्ताको समाधान खोज्नुहोस् । जब तपाईको चिन्ताको कारण अन्त हुन्छ, तब तपाईको आदत समेत बिस्तारै परिवर्तन हुन्छ । 

७.आर्थिक विश्वासघात (Financial Infidelity)
लक्षण: तपाई पैसा वा आफ्नो खर्चको बारेमा पति वा पत्नीसँग सल्लाह गरिरहनुभएको छैन । यस्तो सल्लाह चाहे खर्चको बारेमा होस्, बचत वा लगानीको बारेमा पनि किन नहोस् । तपाई आफ्नो फाइनान्सलाई आफ्नो साथी वा जीवनसाथीसँग लुकाएर राख्न चाहनुहुन्छ । 
उपचार : टिमको रुपमा काम गर्नुहोस् र एक अर्कासँग खुलेर कुरा गर्नुहोस् । आवश्यकता नै पर्यो भने कुनै काउन्सिलरसँग सल्लाह पनि लिन सक्नुहुन्छ। 

८.आर्थिक दोषारोपण (Financial Incest
लक्षण:तपाई पैसासँग जोडिएको आफ्नो दिग्दारी आफ्नो बच्चाको टाउकोमाथि थोपरिरहनुभएको छ, यसो गर्दा तपाईको स्ट्रेस कम हुन्छ । तपाईको पैसासँग जोडिएको समस्याको विषयमा पति पत्नीबीच एकअर्कालाई दोष दिनुहुन्छ । बच्चाहरुलाई पैसा खर्च गर्नु अपराध जस्तै हो भन्ने कुरा महसुस गराउनुहुन्छ वा आफ्नो अफिसको स्ट्रेस आफ्ना बच्चासँग सेयर गर्नुहुन्छ । 
उपचार: काउन्सेलिङसँगै आफ्नो परिवारका सदस्यसँगको सम्बन्ध राम्रो बनाउनुहोस् ।