काठमाण्डौ । उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरुले कामचलाउ सरकारले ल्याउन लागेको बजेटमा नयाँ कार्यक्रम नसमेटिने र पूरक बजेट छिट्टै ल्याउनुपर्ने बाध्यकारी अवस्थामा विकास बजेटको न्यून खर्चले तरलताको समस्या बढ्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

राजधानीमा भएको महासंघका पूर्वअध्यक्षहरुको बैठकले विकास बजेटको न्यून खर्चले तरलता बढाउने र यसबाट ब्याजदरमा पर्ने बृद्धिको नकारात्मक असरले उत्पादकत्वमा हुने लगानी प्रभावित हुने तर्फ चिन्ता व्यक्त गर्दै भनेको छ–‘सोतर्फ निजी क्षेत्रसँग सरकारले यथाशक्य छिटो सहकार्य अगाडि बढाई आत्मविश्वासपूर्ण सकारात्मक पहलकदमीको लागि सम्बन्धित पक्ष र सरकारसँग आग्रह गरिन्छ ।’ 

बैठकले नेपालले चीन सरकारसँग वान रोड वान वेल्ट ‘ओबिओआर’ सम्झौता गरेकोमा सरकारलाई धन्यवाद दिएको छ । साथै, ओबिओआर’मा भारत समेत सहभागी हुने र उसको समेत विश्वास लिने कुरामा सरकारले थप पहल गर्ने अपेक्षा पूर्वअध्यक्षहरुले गरेका छन् । 

बैठकले समसामयिक राजनीतिक परिदृश्यहरुमाथि समेत समीक्षा गरेको बैठकमा सहभागी एक पूर्व अध्यक्षले बताए । 

सो बैठक महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधानको अध्यक्षतामा बसेको थियो । बैठकमा पूर्वअध्यक्षहरु पदम ज्योति, प्रदिपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, सुरज बैद्य तथा पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, पूर्व उपाध्यक्ष आजाद श्रेष्ठ लगायतको उपस्थिति थियो ।