काठमाण्डौ । वर्तमान अर्थ व्यवस्थामा देखिएको तरलता संकटले गर्दा बैकिङ्ग प्रणालीबाट प्रवाहितकर्जाको व्याजदरमा उल्लेखनीय वृद्धि भई उत्पादन लागत बढेको र यसले उद्योग र व्यावसायिक क्षेत्रमा प्रतिकूल असर पर्न गएको भन्दै उद्योगी व्यवसायीले समस्याको तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मुलुकको वर्तमान अर्थव्यवस्थामा आएको तरलताका कारण उद्योग–व्यवसायमा परेको समस्याको तत्काल सम्बोधनको लागि पहल गरिदिन आग्रह गरे ।

‘यही अवस्था कायम रहेमा आगामी वर्षभित्रमा मुलुकको व्यवसाय गर्ने लागत छिमेकी मुलुकसँग प्रतिस्पर्धा गर्न नसक्ने स्थितिमा हुने, अर्थतन्त्रको आकार बढे अनुरुपको आर्थिक व्यवस्थापन पक्ष कमजोर रहेको र वित्तीय अनुशासन कायम गरी व्याजदरलाई बान्छित सीमाभित्र ल्याउनु सम्बन्धित सरोकारवाला नेपाल राष्ट्रबैंक, अर्थ मन्त्रालय, नेपाल बैंकर्स एशोसियसनलगायतले उपयुक्त मौद्रिक नीति तथा वित्तीय उपकरण प्रयोग ल्याउनुपर्छ ।’ प्रम देउवासँग परिसंघका प्रतिनिधिहरुले भने ।

गतवर्ष पनि तरलता समस्यापश्चात नेपाल राष्ट्र बैँकको पहलबाट व्याजदर वान्छित सीमामा आई तरलता तत्कालको समस्यामा केही समाधान भई औद्योगिक व्यवसाय गर्ने वातावरण सहज भएकोमा हाल पुनः यो समस्या छोटो अवधिमा देखिनु केन्द्रीकरण संरचनात्मक, नीतिगत र व्यवस्थापकीय तहमै परिवर्तन गर्नु आवश्यकता महशूस परिसंघले गरेको सो क्रममा अध्यक्ष शर्माले अवगत गराएका थिए ।

मुलुकमा कठीन अवस्थामा समेत सफलतापूर्वक चुनाव सम्पन्न गराएकोमा प्रधानमन्त्रीलाई बधाई दिदैँ आर्थिक समृद्धि, लगानी र विधिको साशनका लागि अहिले सबै तहको चुनाव भइसकेको परिवेशमा ठूलो अवसर आएको समेत बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा आर्थिक समृद्धि तथा समग्र अर्थतन्त्रको विकासको लागि आफू कटिवद्ध रहेको र हालको तरलताको समस्या पनि सम्बन्धित सरोकारवालासँग छलफल गरी समस्याको यथासक्यो सम्बोधन गर्ने आश्वसन र प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिनिधि मण्डलमा परिसंघका पदाधिकारी, गभर्निङ्ग काउन्सिलका सदस्यहरु तथा राष्ट्रिय परिषदका सदस्यहरुको उपस्थिति रहेको थियो ।