काठमाण्डौ । काठमाण्डौ । बैकिङ प्रणालीमा देखिएको तरलता अभावको समस्याले भयावह रुप लिनसक्ने संकेत देखिएको छ । 

लगानीयोग्य रकम अभावका कारण ब्याजदर वृद्धिको अस्वभाविक चलखेल भइरहेको छ भने चाहेको बेलामा ऋण नपाउने समस्याले समेत लगानीकर्तालाई पिरोलेको छ । 

तरलता अभावको समस्या समाधानमा सरकार र राष्ट्रबैंक गम्भीर नबन्दा लामो समयदेखि बाह्य, आन्तरिक, नीतिगत र राजनीतिक कारणले वर्षौदेखि थलिएर भर्खरै तंग्रिन खोजेका देशका उद्योग कलकारखाना बन्द हुने अवस्थामा पुुगेका भन्दै नेपाल उद्योग परिसंघले अविलम्ब संकट समाधानको उपाय खोज्न सरकारसँग आग्रह गरेको छ । 

‘अहिले बजारमा छोटो अवधीको मुद्दत्ती निक्षेपमा ब्याजदर बढाबड भएको छर्लङगै देख्न पाइन्छ । त्यस्तो निक्षेपमा १२ प्रतिशतसम्म ब्याजदर दिइएको पनि छ ।’ परिसंघले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेको छ–‘तर, समग्र बैङ्किङ प्रणाली (वा कुनै) बैंकको कुल निक्षेपमा बढेको ब्याजदरमा लिइएको निक्षेपको हिस्सा नगन्य भएको र पुराना तथा बचत निक्षेपको ब्याजदर यथावत रहेको अवस्थामा बैंकहरुको कोषको लागत(ऋयकत या ँगलम) मा धेरै वृद्धि नभएको अनुमान लगाउन गाह्रो छैन ।’ 

परिसंघले तरलताको चरम अभाव र त्यसबाट उत्पन्न समस्याको वास्तविकतालाई बेवास्ता गर्दै राष्ट्रबैंकले तोकेको कर्जा र निक्षेपको ब्याजदर अन्तर(स्प्रेड दर)को सीमा समेत नाघ्ने गरी बैंकहरुबाट कर्जाको ब्याजदर वृद्धि गरी पहिले नै सम्झौता भइसकेका उद्योगहरुलाई समेत पत्र पठाउने क्रम शुरु भएको भन्दै आक्रोश व्यक्त गरेको छ । ‘यसले ठूूलो पूँजीमा निर्माण भइरहेका औद्योगिक परियोजनाहरु अघि बढ्न नसक्ने अवस्था आएको छ ।’ परिसंघले भनेको छ–‘यसबाट लगानी घट्ने, रोजगारीका अवसरहरु संकुचित हुने र कुल गार्हस्थ उत्पादनमा ह्रास आउने देखिन्छ ।’

परिसंघले ब्याजदर बढ्दा समग्र व्यवसायको लागत बढ्ने, उद्योगको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने र  आयात प्रोत्साहित हुने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेको छ । 

तरलता अभावले विभिन्न चरणमा बैंकिङ प्रणाली, उद्योग व्यवसाय र समग्र अर्थतन्त्रमा पार्ने नकारात्मक प्रभावका विषयमा परिसंघले निरन्तर रुपमा नेपाल राष्ट्र बैंकलगायत नीति निर्माता र सरोकारवालाहरुलाई औपचारिक र अनौपचारिक रुपमा जानकारी गराउँदै आवश्यक सुधारात्मक कदमका लागि अनुरोध समेत गर्दै आएको छ । परिसंघ नेतृत्व र अन्तर्गतका संयन्त्रहरुबाट केही दिनअघि अर्थमन्त्री, गभर्नर लगायतका सम्बद्ध पदाधिकारीसँग भेट गरी समस्या अवगत गराउनुका साथै विभिन्न सार्वजनिक फोरमहरुमा समेत तरलता अभावले अर्थतन्त्रमा पार्ने प्रतिकुल असरमा विषयमा सजग र सचेत रहनुपर्नेमा जोड दिइए पनि सरोकारवालाले बेवास्ता गरेको भन्दै असन्तुुष्टि व्यक्त गरिएको छ । 

परिसंघले निजी क्षेत्रको प्रमुख उद्योगी–व्यवसायीहरुको प्रमुख संस्थाका हैसियतमा गहिरिदो तरलता अभावबाट अर्थव्यवस्थामा संकुचन आउनसक्ने जोखिम मूल्यांकन गरेर त्यसबाट बच्नका लागि अन्य देशको समेत अनुभव र अभ्यासमा आधारित भएर आवश्यक कदम चाल्न दिइएको सुझावलाई सम्बोधन गर्न कुनै ठोस कदम नचालिएकोमा आपत्ति जनाएको छ ।