काठमाण्डौ । बैकिङ प्रणालीमा देखिएको तरलता समस्या विकराल बन्दै जाँदा लगानीमा संकुचन आउने संभावना बढेको भन्दै नेपाल उद्योग परिसंघले नीतिगत सुधारका लागि आग्रह गरेको छ । 

परिसंघले शनिवार एक विज्ञप्ति जारी गर्दै तरलताको संकटले बैकिङ प्रणालीबाट प्रवाहित कर्जाको ब्याजदरमा नाटकीय ढंगले वृद्धि हुँदा बढ्दो ब्याजदरले उत्पादन लागत वृद्धि भई उद्योग र व्यवसायिक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने, निर्यात हतोत्साहित हुने, आयात तीव्र गतिले बढ्ने र समग्र लगानीमा संकुचन आउने भन्दै चिन्ता व्यक्त गरेको छ । परिसंघले घट्दो लगानीले कूल गार्हस्थ उत्पादन, रोजगारी र आर्थिक गतिविधिमा शिथिलता आउने तथ्यलाई गम्भीरतापूर्वक मनन् गरी यो समस्याको शीघ्र सम्बोधन गर्न नेपाल राष्ट्रबैंकलाई आग्रह गरेको छ । 

‘गत २०७३ असोजमा देखिएको तरलता समस्या पश्चात नेपाल राष्ट्र बैंकको पहलबाट ब्याजदर बान्छित सीमामा आई तरलताको समस्या केही समाधान भएकोमा पुनः यो समस्या देखिनुमा संरचनात्मक र नीतिगत तहमै परिवर्तन गरिनुपर्ने आवश्यकता रहेको छ।’ विज्ञप्तिमा भनिएको छ–‘जसबाट दीर्घकालिन समयमा व्यवसायिले पूर्वानुमानको आधारमा उद्योग व्यवसाय निर्वाध ढंगले गर्न सकियोस् ।’

मुलुकलाई आवश्यक पूँजी अर्थव्यवस्थामा लगानी गर्न सके देशले परिलक्षित गरे बमोजिम दीगो, फराकिलो र उच्च आर्थिक विकास हासिल गर्न सक्ने हुँदा हालको तरलता समस्या सम्बोधनमा नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्रबैंकले ठोस कदम चालि दीर्घकालीन रुपमा उद्योग व्यवसायमैत्री मौद्रिक नीति तथा उपकरणको माध्यमबाट समस्या सम्बोधन गर्नुपर्नेमा परिसंघले जोड दिएको छ ।