काठमाण्डौ । सरकारले खर्च गर्न नसक्दा उसको खातामा २ सय ८५ अर्ब रकमको थुप्रो लागे पनि बैंकिङ प्रणालीमा १९ अर्ब मात्र तरलता रहेको देखिएको छ । 

राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले यस्तो जानकारी दिएका हुन् । बजेटको मध्यावधि समीक्षा प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर नेपालले बैंकहरुसँग खर्च गर्न मिल्ने १९ अर्ब तरलता रहेको, तर सरकारी खातामा भने निकै ठूलो रकम थुप्रिएको बताएका हुन् । उनले अब बिस्तारै निर्माणको काम सुरु हुने भएकोले फ्रिज भएर बसेको सरकारी पैसा प्रणालीमा आई तरलतामा सुधार हुने दाबी गरे । उनले बैंक तथा बित्तीय संस्थाहरुलाई निक्षेप संकलन गरेर मात्र कर्जा बिस्तार गर्न निर्देशन समेत दिए । 

उनले यसअघि प्रक्षेपित ७.२ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यमा संसोधन गर्नुपर्ने कारण उल्लेख गर्दै भने–‘यो वर्ष धानको उत्पादनमा ह्रास आउने देखियो । हाम्रो जीडीपीमा धानले ठूलो हिस्सा लिएको छ, यहीकारण हामीले वृद्धिदर केही खुम्चिएर ६ प्रतिशतको हाराहारीमा हुने संसोधित प्रक्षेपण गरेका हौ । आर्थिक वर्षको अन्तसम्ममा ६ प्रतिशतभन्दा केही माथि समेत जानसक्छ ।’ 

उनले उर्जा पर्याप्तताका कारण औद्योगिक क्षेत्र राम्रोसँग संचालनमा आएको, सेवा क्षेत्रको प्रदर्शन समेत राम्रो रहेको, पर्यटकहरुको आवागमन पनि राम्रो रहेको उल्लेख गर्दै आगामी दिन सुखद रहेका दाबी गरे । निर्माण सामाग्रीको मूल्यवृद्धि, पेट्रोलियम पदार्थको मूल्यवृद्धि लगायतका कारणले महंगीमा भने केही दवाब पर्नसक्ने उनको विश्लेषण छ । ‘तर, महंगी दर पनि हामीले अनुमान गरे भन्दा कम नै हुने देखिन्छ ।’–उनले थपे ।

कार्यक्रममा डा. नेपालले राष्ट्रबैंकमा १ सय ५१ अर्बको प्रत्यक्ष विदेशी लगानीको प्रस्ताव स्वीकृतिको प्रक्रियामा रहेको जानकारी समेत दिएका थिए ।