काठमाण्डौ । दशैं विदापछि खुलेको बजार स्थिर देखिएको छ । सोमबार नेप्से परिसूचक १.९८ अंकले घटेको छ । यो गिरावट सामान्य हो । 

सामान्य रुपमा घटेको बजारमा १६ करोड ९८ लाख बढीको सेयर किनबेच भएको छ । धेरै लगानीकर्ता नियमित बजारमा फर्किनसकेको अवस्थामा समेत १७ करोड बराबरको सेयर कारोबार हुनुलाई समेत सन्तोषजनक नै मान्नुपर्छ । 

दशैंलगत्तै बैंकहरुमा तरलता अभाव हुने र यसले ब्याजदर बढाउने आँकलनका बीच समेत लगानीकर्ताहरुलाई वाणिज्य बैंकहरुले अब धमाधम घोषणा गर्ने लाभांशले लोभ्याइरहेको देखिएको छ । एनएफआरएसको लफडाका कारण यो वर्ष वाणिज्य बैंकहरुले दशैंअघि लाभांश घोषणा गर्न सकेका छैनन् । यो समस्या दशैंअघिसम्म समाधान भइसकेकोले अब वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट धमाधम लाभांश घोषणा गर्न थाल्नेछन् । यही आँकलनका बीच लगानीकर्तामा उत्साह कायमै रहेको देखिएको छ । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा सामान्य गिरावट आउँदा सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.०९ अंकको गिरावट देखियो । 

बजारमा ६ वटा समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ । होटल समूह २१.९४ अंकले बढेको यो दिन विकास बैंक समूहमा ७.१४ अंक, जलविद्युत समूहमा १.९२ अंक, बित्त समूहमा ०.३२ अंक, माइक्रोफाइनान्स समूहमा १.४९ अंक र अन्य समूहमा ०.०३ अंकको बढोत्तरी देखिएको छ । 

बैंकिङ समूह १.७१ अंकले घटेको यो दिन व्यापार समूह १.६९ अंक, निर्जीवन बिमा समूह २८.७५ अंक, उत्पादनमूलक ६२.०६ अंक र जीवन बिमा समूह १८.७६ अंकले घटेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ४१ कम्पनीका ७ लाख ३० हजार ३ सय ९९ कित्ता सेयर १६ करोड ९८ लाख ७८ हजार ९ सय ९० रुपैयाँमा किनबेच भएको छ । 
सबैभन्दा बढी प्रभू बैंकले ३ करोड २५ लाख बढीको कारोबार गरेको छ । बाँकी सबै कम्पनीले १ करोड भन्दा कम नै कारोबार गरेका छन् । नेपाल बैंकले ९९ लाख, मेगा बैंकले ९१ लाख, एनआइसी एशिया बैंकले ८० लाख, कुमारी बैंकले ५७ लाख, सिभिल बैंकले ५४ लाख, सिद्धार्थ बैंकले ४७ लाख, जनता बैंक नेपालले ४१ लाख, एनएमबी बैंकले ३९ लाख र सेञ्चुरी कमर्सियल बैंकले ३७ लाख बढीको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा वाणिज्य बैंकको मात्र राज चल्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमीटेडका लगानीकर्ताले धेरै कमाए । यो दिन यो कम्पनीको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा बढ्यो । 

यस्तै, हिमालयन डिस्टीलरीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ४.५० प्रतिशतले घट्यो ।