काठमाण्डौ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पुनः बढेको छ । केहीबेरअघि थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै कुल संक्रमितको संख्या २७६ पुगेको हो । 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा शनिवार गरिएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

संक्रमण पुष्टि भएकाहरुमा कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुष रहेका मन्त्रालयले जनाएको छ । योसँगै कपिलवस्तुमा मात्रै संक्रमितको संख्या ४२ पुगेको छ ।

यसअघि शनिबार बिहानै थप ६ जनामा संक्रमण पुष्टि भएको थियो । शनिबार बिहान संक्रमण पुष्टि भएकाहरुमा बर्दिया, नार्खु निवासी २८ वर्षीया महिला, सिरहा सखुवा(१९ निवासी ३० वर्षीय पुरुष, पर्सा वीरगन्‍ज(१२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर(४ निवासी १८ वर्षीया महिला र चितवन गढौली(१ निवासी २५ वर्षीया महिला रहेका थिए । 

सिरहामा भने पहिलो पटक संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ । योसँगै तराईका २१ मध्ये १९ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । तराईका मोरङ र सुनसरीमा मात्रै अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन ।