काठमाण्डौ । तराईको बाढी तथा डूूबान हटी घाम लाग्दै गर्दा बजारमा लागेको बादल समेत फाट्न थालेको छ । तराई मधेशको बाढी तथा डूूबानको छायाँले बादलले ढाकिएको बजारको आकाश बुधबारदेखि खुल्न थालेको हो । 

यो दिन नेप्से परिसूचकमा ३.५ अंकको सुधार देखिएको छ । यो सुधारसँगै नेप्से परिसूचक १६३२.६६ अंकको उचाईमा फर्किएको छ । बजारमा ७० करोडको मात्र कारोबार भयो । 

तराईमा लागेको घामको प्रभावले बैकिंग समूह, होटल, विकास बैंक, बिमा र अन्य समूहमा सुधार देखियो भने जलविद्युत, वित्त र उत्पादनमूलक समूहमा गिरावट आयो । 

बैकिंग समूह २.९६, होटल समूह ७.५५, विकास बैंक ३.२, बिमा समूह ७५.७८  अन्य समूह २.०३ अंकले बढे । यस्तै, जलविद्युत समूह ८.५५, बित्त समूह ३.०१ र उत्पादनमूलक ५३.५१ अंकले घटे। 

‘क’ वर्गका कम्पनीहरुको कारोबारमा सुधार आएका कारण सेन्सेटिभ इण्डेक्स ०.९३ अंक तथा समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.२१ अंकको सुधार देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
बुधबार १ सय ५८ कम्पनीका १६ लाख ४२ हजार ४३ कित्ता सेयर ७० करोड ८७ लाख ७९ हजार ५३ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी प्रूडेन्सियल इन्स्योरेन्सको ३ करोड ४६ लाख बढीको संस्थापक सेयरको किनबेच भयो । स्ट्याण्डर्ड चार्टर्डले २ करोड ९१ लाख, नेशनल हाइडोपावर कम्पनीले २ करोड १७ लाख, नेपाल लाइफ इन्स्योेरेन्सले १ करोड ८३ लाख, फरवार्ड माइक्रोफाइनान्सले १ करोड ७० लाख, नेपाल बैंकले १ करोड ६० लाख, महालक्ष्मी विकास बैंकले १ करोड ५९ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ३ स्थान वाणिज्य बैंक, ३ स्थान बिमा कम्पनी, ३ स्थान विकास बैंक र बाँकी १ स्थान जलविद्युत कम्पनीले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन हाम्रो विकास बैंक, कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक र नयाँ नेपाल लघुवित्त विकास बैंकले सबैभन्दा धेरै कमाए । यी कम्पनीहरुको सेयर मूल्य क्रमशः ५.३३, ५.१५ र ५.०९ प्रतिशतले बढ्यो । 

यस्तै, हिमालयन डिस्टीलरीको मूल्यमा यो दिन समेत १० प्रतिशतको हाराहारीमा पहिरो गयो । लक्ष्मी भ्यालूू फण्ड र कुुबेर मर्चेन्ट फाइनान्स लिमीटेडले ५ प्रतिशत भन्दा बढीले सम्पत्ति गुमाउन पुुगे ।