काठमाण्डौ । तलबवृद्धि र पदोन्नतिको विषयलाई लिएर आन्दोलनरत एयर इन्डियाका १२० जना पाइलटले सामूहिक राजीनामा दिएका छन् ।

एयर इन्डियाको एयरबस ए–३२० मा कार्यरत पाइलटहरुले आफ्नो तलबवृद्धि र पदोन्नतिको माग पूरा नभएपछि सामूहिक राजीनामा दिएका हुन् । केन्द्र सरकारबाट भारु ६० हजार करोड रुपैयाँभन्दा बढी कर्जामा फसेको यो सरकारी विमान कम्पनीको हिस्सा बेच्ने प्रक्रिया सुरु गर्ने फैसलापछि पाइलटहरुले सामूहिक राजीनामा दिएका हुन् । राजीनामा दिएका एक पाइलटले भने, ‘कम्पनी प्रबन्धन हाम्रो माग सुनुवाइ गर्नुपथ्र्यो, तलबवृद्धि र पदोन्नतिको माग हामीले धेरै पहिलादेखि नै गर्दै आएका थियौँ तर कम्पनीले सुनुवाइ गरेन ।’

ती पाइलटका अनुसार कम्पनीले समयमै तलब पनि दिँदैन थियो । पाइलटहरु पहिलो ५ वर्षका लागि कम तलबमा कन्ट्र्याक्टमा राखिएको पनि ती पाइलटले खुलासा गरे । ‘अनुभव बढ्दै जाँदा तलब बढ्ला, पदोन्नति होला भन्ने लग्थ्यो तर त्यस्तो भएन’, उनले गुनासो पोखे ।

राजीनामा दिएका पाइलटहरु अन्य एयर कम्पनी जागिर पाउनेमा ढुक्क छन् । किनकि इन्डिगो एयर, गो एयर, विस्तारा, एयर एसिया, इन्डियन एयरलाइन्सजस्ता कम्पनीहरु एयरबस ३२० सञ्चालन गरिरहेका छन् ।

पाइलटहरुको सामूहिक राजीनामाका विषयमा कम्पनीका प्रवक्ताले एयरबस ३२० उडाउने कम्पनीसँग अन्य पाइलटहरु प्रशस्त रहेको बताए । ‘उनीहरुको राजीनामाबाट एयरबस सञ्चालनमा कुनै असर पर्दैन’, उनले भने ।

अहिले पनि एयर इन्डियामा २ हजार पाइलट कार्यरत छन् । जसमा ४०० एग्जिक्युटिभ पाइलटहरु छन् । – एजेन्सी