काठमाण्डौ । लाभांश र हकप्रद जारी गर्ने मुख्य अजेन्डासहित तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।

बैंक सञ्चालक समितिको गत जेठ ३० गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार २५ गते रुपन्देहीको बुटवल–९ मिलनचोकस्थित सिद्धार्थ कटेज रेस्टुरेन्टमा आयोजना गर्ने निर्णय गरेको हो। 
सभामा गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको चुक्तापुँजी १ अर्ब १४ करोड ४१ लाख ६८ हजार १२५.७६ रुपैयाँको १२ प्रतिशतले हुन आउने १३ करोड ७३ लाख १७५.०९ रुपैयाँबराबरको बोनस सेयर पारित हुनेछ। 

सभाले बोनस सेयर वितरणपश्चात कायम हुने चुक्तापुँजीको ३ः१ (तीन कित्ता सेयरबराबर थप १ कित्ता सेयर) को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि स्वीकृत गर्नेछ। 

सभाबाट बैंकको नियमावलीअनुसार संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने चारजना र सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने दुईजना निर्वाचित हुनेछन्।

यसैगरी सभाले साबिकको मिसन डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमिटेडको कम्पनी रजिस्ट्रारको कार्यालयमा दार्ता खारेजी र कर कार्यालयमा हिसाब फछ्र्यौट गरी पान नं. दर्ता खारेजी गर्न सञ्चालक समिति अख्तियारी प्रदान गर्ने निर्णय गर्नेछ। 

त्यस्तै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग आपसमा गाभ्ने र गाभिने सम्बन्धमा समझदारीपत्र तयार गरी हस्ताक्ष गर्नेलगायतका सम्पूर्ण कार्यको जिम्मेवगारी पनि सञ्चालक समितिलाई नै प्रदान गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।