रुपन्देही । बुटवलमा केन्द्रिय कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच पशुधन, लघुवित्त तथा विपन्न वर्ग कर्जाको सुरक्षण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । 

सम्झौतापछि तिनाउ मिसन डेभलपमेण्ट बैंकबाट कर्जा लिई खरिद गरेको पशुहरुको कर्जा सुरक्षण कोषबाट विमा हुनेछ भने बैंकले प्रवाह गरेको रु १० लाखसम्मको लघुवित्त तथा विपन्न वर्ग कर्जाको समेत सुरक्षा हुनेछ । 

यस बैंकबाट कर्जा लिई खरिद गरेको पशुको मृत्यु भएमा वा त्यस्तो पशु अनुत्पादक भएमा सम्बन्धित पशुधनीले कोषबाट क्षतिपूर्ति पाउनेछन् ।

गाई, भैंसी, बाख्रा, बंगुरको लगायतका पशुहरुको बिमा बापत लाग्ने शुल्कमध्ये ७५ प्रतिशत शुल्क नेपाल सरकारले र बाँकी २५ प्रतिशत शुल्क मात्र व्यवसायीले व्यहोनुपर्ने हुँदा उद्यमीलाई न्यूनतम शुल्कको मात्र भार पर्ने र जोखिम समेत न्यूनिकरण हुने बैंकले जनाएको छ ।

हाल चुक्तापूँजी १ अर्ब ६७ करोड ५८ लाख रहेको बैंकले १५ अर्ब ५० करोड निक्षेप संकलन गरी १२ अर्व ५२ करोड कर्जा प्रवाह गरेको छ भने ५३ वटा शाखा कार्यालयहरुबाट बैंकिङ कारोबार गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिपकुमार श्रेष्ठले बताए ।