ब्रिटेनको फर्टीलीटी रेगुलेटर अर्थात प्रजनन सम्बन्धी नियामक संस्थाले दुई महिला र एक पुरुषको समिश्रणबाट बन्ने बच्चा जन्माउन स्वीकृति दिएको छ।

ऐतिहासिक र विवादास्पद रहेको यो निर्णय घातक आणुबंशिक रोग लाग्ने बच्चा नजन्मुन् भन्ने उद्देश्यले गरिएको हो।

ब्रिटेनको न्युक्यासलका डाक्टरहरुले विकास गरेको उन्नत इन भीट्रो फर्टीलाइजेशन अर्थात कृत्रिम गर्भादान प्रविधिबाट अब त्यस्तो सुविधा दिन तयार भएको बताउँदै इच्छुक दाताहरुसँग डीम्बका लागि अपील गरिसकेका छन्।

यस्तो पहिलो बच्चा छिटोमा सन २०१७को अन्त्यसम्ममा जन्मन सक्छ।

प्रविधि
कैयौं परिवारले समस्याग्रस्त माइटोकोन्ड्रियाका कारण सञ्चो नहुने रोग लागेका थुप्रै बच्चाहरु गुमाइसकेका छन्।

यस्ता रोगहरु आमाबाट बच्चामा पुग्ने हुनाले दाताको डीम्ब, आमाको डीम्ब र बाबुको शुक्रकीट मिलाएर प्रविधि अगाडि बढाइन्छ ।

बच्चामा दाताको डीएनए न्यून मात्रामा हुन्छ।

प्रक्रिया कानुनी, नैतिक र बैज्ञानिक रुपमा तयार छ।

ऐतिहासिक
ह्युमन फर्टीलाइजेशन एण्ड इम्ब्रियोलोजी अथोरिटि (एचएफइए)की अध्यक्ष स्याली सेशायरले भनिन्, "यो ऐतिहासिक महत्वको निर्णय हो। यो ध्यानपूर्वक अगाडि बढ्नुपर्ने विषय हो र लामो बाटो हिँड्नुछ। हामीले आज गरेको निर्णयबाट मानिसहरु खुशी हुनेछन् भन्ने ठान्छु।"

अब त्यस्तो प्रविधि अपनाउन चाहनेले एचएफइए मा अनुमतिपत्रका लागि निवेदन दिन सक्नेछन्।
यसले एक वर्षमा २५ जोडीलाई सहयोग पुर्याउने लक्ष्य छ।

तर केही बैज्ञानिकहरुले यो प्रविधिको नैतिकतामाथि प्रश्च उठाउँदै यसले आणुवंशिक डिजाइनर बच्चा जन्माउने ढोका खोल्नेछ भनेका छन्।

मान्छेका हरेक जसो कोषमा हुने खाद्यान्नलाई उर्जामा बदल्ने अंश माटोकोन्ड्रियामध्ये समस्याग्रस्त माइटोकोन्ड्रियाका कारण त्यस्तो रोग लाग्छ।

हरेक ४३ सय जन्मने बच्चा मध्ये एकजना अन्धो, कमजोर मांशपेशी हुने, कान नसुन्ने, बेहोस हुने, सिकाइमा समस्या, मधुमेह, मुटु र कलेजो फेल भएका र कैयौंपटक बच्चा नबाँच्ने स्थिति जस्ता घातक लक्षणसहित जन्मिन्छन्।

कसरी काम गर्छ
यो मुख्यत दाताबाट स्वस्थ्य माइटोक्रोन्डिया लिने प्रविधि हो।

तर माइटोक्रोन्डियाको आफ्नैपनि डीएनए हुने भएकाले जन्मने बच्चामा तीनजना मानिसको डीएनए हुनेछ।

तर बच्चामा व्यक्तित्व र अरु कुराहरु भने बाबुआमाबाटै आउनेछ।

यो प्रक्रियाबाट बच्चा जन्माउने ब्रिटेन पहिलो मुलुक भने हुनेछैन।

जोर्डनका जोडी र न्यूयोर्कका डाक्टरहरुले यो प्रक्रिया मेक्सिकोमा अपनाएका थिए र त्यसबाट जन्मेको बालक स्वस्थ्य रहेको बताइएको छ।

-BBC Nepali