काठमाण्डौ । तीनवटा ठूला बैंकले बुधबार एकैपटक ठूलो संख्यामा सहायकस्तरसहित विभिन्न पदमा कर्मचारी माग गरेका छन् । 

‘क’ वर्गका जनता बैंक नेपाल लिमिटेड, सेन्चुरी कमर्सियल बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडले ठूलो संख्यामा सहायकस्तरका कर्मचारीसँगै अन्य विभिन्न पदमा सयौँको संख्यामा आवेदन खुलाएका हुन् ।

जनता बैंकले जुनियर असिस्टेन्ट १५० र म्यानेजमेन्ट ट्रेनी ५० जना माग गरेको छ । म्यानेजमेन्ट ट्रेनीमा आवेदन दिन कम्तीमा ६० प्रतिशतसहित म्यानेजमेटन्ट विषयमा मास्टर डिग्री उत्तीर्ण गरेको हुनुपर्नेछ भने उम्मेद्वारको उमेर ३० वर्षभन्दा माथि हुनुहुने छैन । 

त्यस्तै जुनियर असिस्टेन्टमा आवेदन दिन कम्तीमा ५० प्रतिशतसहित म्यानेजमेन्टमा ब्याचलर उत्तीर्ण गरेको हुनुपर्नेछ भने उमेर २८ वर्षभन्दा माथि हुनुहुने छैन । 

उम्मेदवारको नेपाली र अंग्रेजीमा लेखित र मौखिक अभिव्यक्ति राम्रो हुनुपर्नेछ भने कम्प्युटर सीप पनि जानेको हुनुपर्नेछ । 

इच्छुक उम्मेदवारले जुलाई १७ तारिखसम्म www.merojob.com/janatabank मा अनलाइन आवेदन दिन सक्नेछन्।

यसैगरी सेन्चुरी कमर्सियल बैंकले पनि ट्रेनी असिस्टेन्ट १२५ जनासहित विभिन्न पदमा १६९ कर्मचारी मागेको छ । 

बैंकले म्यानेजमेन्ट ट्रेनी ३०, जुनियर असिस्टेन्ट ५, सिनियर असिस्टेन्ट चारजना, सुपरभाइजर, असिस्टेन्ट अफिसर, अफिसर, असिस्टेन्ट म्यानेजर र डेपुटी म्यानेजर एक÷एकजना माग गरेको छ । 

म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेन्टले मुख्य कार्यालयसहित अन्य विभिन्न शाखामा रहेर काम गर्नुपर्नेछ । त्यस्तै बैंकले धनगढी शाखाका लागि डेपुटी म्यानेजर र सुर्खेत शाखाका लागि असिस्टेन्ट म्यानेजर माग गरेको हो भने अन्य कर्मचारी मुख्य कार्यालयका लागि माग गरिएको हो ।

ट्रेनी असिस्टेन्टका लागि कम्तीमा द्वितीय श्रेणीमा व्यवस्थापन विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

बैंकले तोकेको शैक्षिक योग्यता र अनुभवसहित इच्छुक आवेदकले १७ जुलाईसम्ममा बैंकको www.cmsjob.com अनलाइन आवेदन पेस गर्न सक्नेछन् । 

यसैगरी, हिमालयन बैंकले जुनियर असिस्टेन्ट र सुपरभाइजर पदमा ४३/४३ जना माग गरेको छ । जुनियर असिस्टेन्ट पदमा आवेदन दिन उम्मेद्वारले कम्तीमा सम्बन्धित विषयमा ब्याचलर उत्तीर्ण गरेको हुनुपर्नेछ । सम्बन्धित क्षेत्रमा काम गरेकोलाई बैंकले प्राथमिकता दिनेछ । उमेरको हद २८ वर्ष तोकिएको छ । 

यस्तै, सुपरभाइजर पदका लागि सम्बन्धित विषयमा मास्टर ड्रिगी पूरा गरेको हुनुपर्नेछ भने काम गरेको अनुभवीलाई प्राथमिकता दिइनेछ । उमेरको हद ३५ वर्ष तोकिएको छ। इच्छुक उम्मेदवारले १७ जुलाईसम्म बैंकको www.himalayanbank.com अनलाइन आवेदन दिन सक्नेछन् ।