काठमाण्डौ । करिब १० वर्षअघिको अधूरो प्रयासलाई सार्थक रुप दिंदै एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीले पार्टी एकीकरणसँगै एउटै कम्युनिष्ट पार्टी निर्माणका लागि अन्य बामघटकहरुलाई आह्वान गरेका छन् । करिब १० वर्षअघि तत्कालीन एकीकृत माओवादी र नेकपा एमालेबीच पार्टी एकताको प्रयास भएको थियो । केही दस्तावेज समेत तयार भइसकेर पार्टी एकता घोषणा हुन नसकेको त्यही प्रयासलाई सार्थक रुप दिंदै माओवादीबाट फूटेको नयाँ शक्तिलाई समेत समेट्दै तीन पार्टीका शीर्ष नेताहरुले आर्थिक समृद्धिका लागि एउटै कम्युनिष्ट पार्टी निर्माणमा आफूहरु होमिएको उद्घोष गरेका हुन् । 

मंगलबार तीन पार्टीबीच एकीकरणको घोषणा भइरहँदा तीनै दलका शीर्ष नेताहरुले आफूहरुको प्रयासले राजनीतिक स्थिरता हुने र त्यसपछि आर्थिक समृद्धिको युुग सुरु हुने दाबी गरेका छन् । 

एमाले अध्यक्ष केपी ओलीले स्वाधीन र समृद्धि राष्ट्र निर्माणका लागि तीन पार्टीबीच एकताको सहमति भएको जिकिर गरे ।

‘हामी समृद्धिको मुद्धालाई छाडेर सत्तामुखी हुँदैनौ ।’ उनले भने–‘तर २०७४ सालभित्रै बामशक्तिहरुको सहभागितामा सरकार गठन गर्ने कुण्डली लेखिइसकेको छ, यो अब टर्दैन ।’ 

उनले आफूहरुले थालेको एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा अन्य साना कम्युनिष्टहरुलाई समेत समाहित हुन आह्वान गर्दै एउटै पार्टी बनेपछि आउँदा २ निर्वाचनमा दुुईतिहाई बहुमत हासिल गर्ने र त्यसपछि बन्ने कम्युनिष्टको सरकारले बराबरी हैसियतमा छिमेकीहरुसँग सम्बन्ध बिस्तारको नीति लिने प्रष्ट्याए । 

उनले देशमा धेरै पार्टी भएर समेत समस्या भएको भन्दै बामपन्थी र प्रगतिशील खेमाका शक्तिहरुलाई आफूहरुले थालेको एकता अभियानमा संलग्न हुन आग्रह गरे । ‘अनेकौ पार्टीहरु अब किन चाहियो ?’ उनले भने–‘आउनुहोस्, सबै मिलेर एउटै कम्युनिष्ट पार्टी बनाऔं ।’ 

एकता घोषणाका लागि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल(प्रचण्ड)ले १० वर्ष पुरानो प्रयासले सार्थक रुप लिएकोमा खुशी व्यक्त गर्दै अबको बाटो आर्थिक समृद्धिको हुने बताए ।

‘आर्थिक समृद्धि हासिल गरी समाजवादउन्मुख समृद्ध र धनी राज्य बनाइनेछ ।’ उनले भने–‘यो एकतापछि हामी समाजवादको आधार निर्माण गर्छौ र समाजवादको नयाँ मोडेल तयार गरी विश्वलाई नयाँ सन्देश दिनेछौ ।’ 

प्रचण्डले ऐतिहासिक आवश्यकता र जनताको चाहना अनुसार नै आफूहरु पार्टी एकीकरणको सहमतिमा पुुगेको उल्लेख गर्दै भने–‘राजनीति धेरै हदसम्म संभावनाको खेल रहेछ । हाम्रो निकै ठूलो प्रयासपछि यो ऐतिहासिक निर्णय हुन सकेको हो ।’ 

उनले तीन पार्टीबीचको एकीकरणको सहमति कसै(कांग्रेस)प्रति लक्षित नभएको उल्लेख गर्दै यो ऐतिहासिक कदमविरुद्ध भ्रम नछर्न आग्रह गरे । 

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पनि नेपाललाई आर्थिक रुपमा समृद्ध बनाउन तीन पार्टीबीच एकीकरणको सहमति भएको दाबी गरे ।

‘हामी अब केही दशकमै समृद्धि र विकासको उचाई चुम्नेछौ ।’ उनले भने–‘अब बन्ने हाम्रो पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउनेछ ।’ उनले आफूहरुको यो प्रयासपछि मुलुकामा वृहत राजनीतिक ध्रुवीकरणको सुरुवात हुने बताए ।