काठमाण्डौ । कर्मचारी सञ्चयकोषले पूर्वाधार विकास योजनाहरुमा लगानी गर्ने सोच बनाएको छ ।

कोषले ५८ औँ वर्ष प्रवेश गरेको अवसरमा राजधानीमा मंगलबार आयोजित कार्यक्रममा भावी योजनाहरु सार्वजनिक गर्दै कोषले प्रतिफल, सुरक्षा र नगद प्रवाह सुनिश्चित भएका पूर्वाधार विकासका आयोजनाहरुमा लगानीका लागि तीनवटै तहका सरकार (संघ, प्रदेश र स्थानी) तथा निजी क्षेत्रसँग साझेदारी र सहकार्य गर्ने नीति लिन लागेको हो । कोषले सञ्चयकोष, निवृत्तभरण कोषलगायत सञ्जयकर्ताका लक्षित सामाजिक सुरक्षाका कार्यक्रम व्यवस्थापन गर्दै कोषलाई सामाजिक सुरक्षाको अग्रणी संस्थाका रुपमा अगाडि बढाउने योजना पनि बनाएको छ ।

कोषले सूचना तथा सञ्चार प्रणालीको प्रभावकारी उपयोग, कार्यप्रक्रियाको सरलीकरण एवं सरोकारवाला निकायहरुसँग सहकार्यका आधारमा संस्थागत विकास र उच्च प्रविधिको प्रयोग गरी सञ्चयकर्तालाई गुणात्मक सेवा प्रदान गर्ने याजना पनि बनाएको छ । कोषले २०७६ साउन १ गतेपछि स्थायी नियुक्त हुने निजामती सेवा, नेपाली सैनिक सेवा, नेपाल प्रहरी सेवा, सशस्त्र प्रहरी बल र नेपाल विशेष सेवाका कर्मचारीका लागि योगदानमूलक निवृत्तभरण योजना कार्यान्वयन गर्न सुरु गरेको छ । यो योजनामा कर्मचारीको मासिक तलबबाट ६ प्रतिशत कट्टा गरिने र सोही अनुपातमा नेपाल सरकारको योगदान हुनेछ ।

कोषले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गत आर्थिक २०७५/७६ मा २१ हजार सञ्चयकर्तालाई १९ करोड ९७ लाख सामाजिक सुरक्षा सुविधा उपलब्ध गराइसकेको छ ।

त्यस्तै कोषले लगानीबाट प्राप्त कुल प्रतिफलमध्ये ९५ प्रतिशतभन्दा बढी रकम व्याज, मुनाफा र सामाजिक सुरक्षा सुविधाका रुपमा सञ्चयकर्तालाई नै प्रदान गरेको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७४/७५ मा कोषले ३ अर्ब ९४ करोड खुद मुनाफाबाट २ अर्ब ७६ करोड सञ्चयकर्तालाई मुनाफाका रुपमा वितरण गरेको छ ।

हाल कोषमा ६ लाख सञ्चायकर्ता पुगेका छन् भने कोषकट्टी गरी पठाउने कार्यालयको संख्या २६ हजार पुगेको छ ।

गत असार मसान्तसम्म सञ्चयकोष मौज्दात ३ खर्ब ९ हजार ८५ करोड रहेको कोषको जगेडा कोषमा ३१ अर्ब ४५ करोड र कुल लगानी ३ खर्ब ३८ अर्ब ६ करोड रहेको छ ।

कोषले सञ्चित रकममा ८.२५ प्रतिशत ब्याजदर उपलब्ध गराउँदै आएको छ । कोषले विशेष सापटीमा ९.५० प्रतिशत ब्याजदरमा कोष मौज्दातको ८० प्रतिशतसम्म सापटी उपलब्ध गराउँछ ।

कोषले शैक्षिक सापटीमा घरजग्गा धितो राखी सञ्चकर्ता वा पति–पत्नी, छोराछोरीलाई स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न अधिकृतम २५ लाख रुपैयाँसम्म ९.७५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउँछ । त्यस्तै घर निर्माण वा खरिदमा ४० लाख रुपैयाँसम्म ९.७५ वा सोभन्दा माथि १ करोड रुपैयाँसम्म (१५ वर्ष तलबमा नबढ्ने गरी) १० प्रतिशत ब्याजदर ऋण उपलब्ध गराउँदै आएको छ ।

कोष सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सञ्जयकर्ताको सेवाकालमा दुर्घटनामा परी मृत्यु वा पूर्ण अगंभंग भएमा २ लाख रुपैयाँ, काजकिरिया अनुदान खर्च ४० हजार रुपैयाँ, सुत्केरी तथा शिशु हेरचाह योजनामा ७ हजार ५०० रुपैयाँ दुईपटकसम्म र औषधोपचारका लागि १ लाख रुपैयाँ तथा घातक रोग बिमा योजनामा १० लाख रुपैयाँसम्म राष्ट्रिय बिमा कम्पनीबाट खर्च सोधभर्नाका आधारमा उपलब्ध गराउँदै आएको छ ।