काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले बजार सुधारका लागि पछिल्लो समय निकै धेरै प्रयासहरु गरेको छ । बजारलाई आधुनिक प्रविधिसँग जोड्ने उसको प्रयासलाई सर्वत्र सकारात्मक रुपमा हेरिएको छ । तर, बजारमा हुने चलखेल र इन्साइडर ट्रेडिङको धन्दामा बोर्डका जिम्मेवार अधिकारीहरुको मौनताले उसलाई बेला–बेला विवादमा तान्ने गरेको छ । 

केही विकास बैंकहरुले धितोपत्रको सार्वजनिक निश्कासन नियमावलीविपरीत साधारणसभाबाट पारित भइसकेको हकप्रद रद्धका लागि गरेको प्रयासलाई बोर्डका पदाधिकारी प्रभाव वा दवाबमा परेर जसरी मौन समर्थन गरिदिए, त्यसैगरी पछिल्लो समय तीनवटा कम्पनीको मूल्यमा निकै ठूलो चलखेल भइरहँदा समेत उनीहरुले रहस्यमय मौनता साँधेका पाइएको छ । इन्साइडर ट्रेडिङको धन्दा गरी ती कम्पनीको बजार मूल्यमा एक महिनाको अवधिमा डेढ सय प्रतिशत भन्दा बढीले वृद्धि गराउँदा समेत बोर्ड मौन छ ।

पछिल्लो समय प्रत्येक दिनजसोको कारोबारमा नेशनल माइक्रोफाइनान्स बित्तीय संस्था, फरवार्ड माइक्रोफाइनान्स  र हिमालयन डिस्टीलरी लिमीटेड चम्किरहेका छन् । उनीहरुमध्ये एकमहिनाको अवधिमा फरवार्ड माइक्रोफाइनान्सले धेरै दिन धेरै कारोबार गर्ने उत्कृष्ट १० कम्पनीको सूचिमा आफ्नो स्थान जमाउने सफलता पायो, यो क्रम बुधबार पनि जारी रह्यो । एकमहिनादेखि नै यी तीन कम्पनीको मूल्यमा निकै ठूलो चलखेल भइरहँदा र इन्साइडर ट्रेडिङको धन्दामा विभिन्न स्वार्थ समूहरु लागिरहँदा समेत बोर्ड भने अहिलेसम्म चूपचाप बसेको छ । 

स्मरणरहोस्, यी तीन कम्पनीको मूल्यमा यति धेरै वृद्धि हुनुपर्ने कुनै कारण नै छैन । न यी कम्पनीले आकर्षक लाभांश घोषणा गरेका छन्, न त अन्य कारणले नै लगानीकर्तालाई यी तीन कम्पनीको सेयर खरीदमा अपहत्ते गर्न बाध्य बनाएको छ । 

अचाक्ली वृद्धि !
फरवार्ड माइक्रोफाइनान्सको २०१७ जुलाई २ को अन्तिम कारोबार मूल्य प्रतिकित्ता १९०१ रुपैयाँ रहेको थियो । त्यसपछि यसको मूल्य निरन्तर बढेको देखिन्छ ।

अगस्ट ७ मा यो कम्पनीको प्रतिकित्ता मूल्य ३९४० रुपैयाँ पुगिसकेको छ । यो मूल्य बुधबार केही घटेर ३८९५ मा झरेको छ । यो हिसाबले एकमहिना भन्दा केही बढी अवधिमा यो कम्पनीको मूल्य १०७ प्रतिशत बढीले वृद्धि भइसकेको छ । यो अस्वभाविक मूल्य वृद्धि हो । कम्पनीले भविष्यमा दिनसक्ने संभावित लाभांश वा अन्य अफरहरुको सूचना संचालक समिति वा व्यवस्थापनबाट चुहिएपछि उनीहरुसँगकै मिलेमतोमा विभिन्न स्वार्थ समूहले बजारमा चलखेल गरी यो कम्पनीको मूल्य बढाएको देखिन्छ । यसलाई इन्साइडर ट्रेडिङ पनि भनिन्छ । यति लामो समयसम्म इन्साइडर ट्रेडिङको धन्दा खुलेआम हुँदा पनि बोर्ड नबोल्नु वा चासो नदिनुुले उसको संलग्नताको आशंका गर्न सकिने एक विश्लेषक बताउँछन् । 

फरवार्डको मात्र होइन, नेशनल माइक्रो फाइनान्सको मूल्यमा त अझ बढी  चलखेल भएको पाइएको छ ।

यो माइक्रो फाइनान्सको जुलाई ३ को मूल्य प्रतिकित्ता १३४५ रुपैयाँ रहेको थियो । त्यसपछि निरन्तर बढेर बुधबारसम्म प्रतिकित्ता ३७६१ रुपैयाँको उचाईमा पुगिसकेको छ । एक महिनाको अवधिमा यो कम्पनीको मूल्यमा १८० प्रतिशतको वृद्धि भएको छ । यो निकै अस्वभाविक मूल्यवृद्धि हो । यो कम्पनीमा समेत संभावित लाभांश वा अफरको बिषयमा कम्पनी संचालक तथा व्यवस्थापनसँग मिलेमतोमा सूचना लिक गरी इन्साइडर ट्रेडिङको धन्दामा सामेल विभिन्न समूहहरुले आफ्नो स्वार्थ अनुकुल मूल्य वृद्धि गराएका पाइएको छ । 

यी २ माइक्रोफाइनान्सको मात्र होइन, हिमालयन डिस्टीलरीको मूल्यमा समेत उस्तै चलखेल भएको छ ।

बजारलाई नियन्त्रणमा लिएर स्वार्थ समूहहरुले यो कम्पनीको मूल्य समेत एकमहिनाको अवधिमा अस्वभाविक रुपमा वृद्धि गराएका छन् । जुलाई ४, २०१७ को दिन यो कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ७४५ रुपैयाँ रहेको छ । त्यसपछि निरन्तर बढेको यो कम्पनीको मूल्य बुधबार(अगस्ट ९)का दिन प्रतिकित्ता १९२७ रुपैयाँको उचाईमा पुुगेको छ । यो कम्पनीको मूल्य पनि एकमहिनाको अवधिमा १५९ प्रतिशतले वृद्धि भएको देखिन्छ । यो पनि निकै अस्वभाविक वृद्धि हो । 

धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले तीन कम्पनीको मूल्य स्वभाविक वृद्धि गरिएको बिषयमा आफूहरुले समेत छानबिन गरिरहेको दाबी गरे । उनले भने–‘हामीले हरेक दिनको इण्डेक्स समेत हेरिरहेका हुन्छौ । मूल्यमा धेरै तलमाथि हुँदा त्यो बिषयलाई अझ गम्भीर रुपमा हेर्छौ।’