काठमाण्डौ । दरबारमार्गका पसलहरु सोमबारदेखि तीन दिनका लागि खुलेका छन् । 

नेपाल चेम्बर अफ कमर्सको आग्रहमा आफूहरुले ३ दिनका लागि बजार खुलाएको दरबारमार्ग विकास बोर्डले एक विज्ञप्तिमार्फत जनाएको छ । 

आपूर्तिमन्त्री शिवकुमार मण्डल नेतृत्वमा भएको अनुुगमनको क्रममा खरीदभन्दा कयौं गुणा(अस्वभाविक) मूल्य राखेर ग्राहक ठगी गर्ने काम भएको भेटिएपछि दरबारमार्ग क्षेत्रका ९ पसलमा सिल गरिएको थियो । १६ सय मूल्य पर्ने सामानलाई १६ हजार रुपैयाँसम्ममा बिक्री भएको फेला परेपछि पसल सिल गरिएको थियो । तर, त्यसको विरोधमा व्यवसायीहरुले भदौ २१ गतेदेखि दरबारमार्ग क्षेत्रका सबै पसल अनिश्चितकालका लागि भन्दै बन्द गरेका थिए । 

दरबारमार्ग विकास बोर्डले सरकारले गरेको अनुुगमनपछि उत्पन्न समस्याको समाधान तीन दिनभित्र नभए त्यसपछि विरोधका कार्यक्रम सार्वजनिक गर्ने बताएको छ । 

विज्ञप्तिमा उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सले समस्या समाधानका लागि अथक प्रयास गरिरहेको समेत बताइएको छ ।