काठमाण्डौ । एनएमबी बैंकको एफपीओमा तेश्रो दिन शुक्रबारसम्म ७७ करोड रुपैयाँ बराबरको आवेदन परेको छ ।

यो अवधिसम्म साढे २८ हजार आवेदकबाट २३ लाख १२ हजार कित्ता खरीदका लागि आवेदन परेको हो । 

यो हिसाबले तेश्रो दिनसम्म यो बैंकको करिब २० प्रतिशत एफपीओ मात्र बिक्री भएको छ । एफपीओ खरीदका लागि छिटोमा असार ३ गतेसम्म आवेदन दिनुपर्ने भनिएको छ । यसको अर्थ पहिलो चरणको अन्तिम दिन आइतबार(असार ३) गते बाँकी ८० प्रतिशत एफपीओ बिक्रीको संभावना छैन । 

निश्कासन खुल्ला भएको ४ कार्य्दिनभित्र सम्पूर्ण सेयर खरीदका लागि सर्वसाधारणहरुबाट निवेदन प्राप्त नभएमा संस्थागत लगानीकर्ताहरुले समेत आवेदन दिन पाउने व्यवस्था गरिएको छ । 

बैंकले १०० रुपैयाँ अंकित दरको साधारण सेयरमा २३३ रुपैयाँ प्रिमियम थपी प्रतिकित्ता ३३३ रुपैयाँको दरले १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता साधारण सेयरको अतिरिक्त निश्कासन गरेको हो ।

एफपीओका लागि ढिलोमा असार २८ गतेसम्म आवेदन दिन सकिनेछ।  

इच्छुकले न्युनतम १० कित्ता र अधिकतम ५७०७० कित्तासम्म आवेदन दिन पाउने बताइएको छ ।

कम्पनीको एफपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम नागरिक लगानीकोषले गरिरहेको छ । सेयर अण्डराइट नागरिक लगानीकोष बाहेक एनआइबिएल एस क्यापिटल, नेपाल एसबीआई मर्चेन्ट बैंकिंग, प्रभू क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र आरबीबी मर्चेन्ट बैंकिंग लिमीटेडले गरेका छन् ।  

यो बैंकले २०७४ बैशाख २० गते नै एफपीओ निश्कासनका लागि आवेदन दिएको थियो । तर, एफपीओ मूल्यमा अण्डरराइट गर्नेसँग कुरा नमिल्दा तथा राष्ट्रबैंकको नीतिगत व्यवस्थाका कारण समेत लामो समय रोकिएको थियो । 

एफपीओबाट बैंकको चुक्तापूँजीमा १ अर्ब १४ करोड थप हुनेछ भने प्रिमियम बापत संकलन हुने २ अर्ब ६६ करोड जगेडाकोषमा जम्मा हुनेछ ।  

हाल यो बैंकको चुक्तापूँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । एफपीओपछि चुक्तापूँजी ७ करोड ६० लाखको उचाईमा पुुग्नेछ । 

यस्तै, एफपीओपछि सर्वसाधारण सेयरधनीको स्वामित्व अनुपात हालको ३९।९९ प्रतिशतबाट वृद्धि भई ४९ प्रतिशत पुुग्नेछ । हाल ६०।०१ प्रतिशत रहेको संस्थापक सेयर होल्डिङ घटेर ५१ प्रतिशतमा झर्नेछ ।

यो बैंकको एफपीओलाई इक्रा नेपालले इक्रा एनपी आइपीओ ग्रेड ३ को रेटिङ दिएको छ । यसले बैंकको अवस्था औसत रहेको भन्ने जनाउँछ र यस्तो कम्पनीमा लगानी गर्नु जोखिमपूर्ण मानिँदैन ।