काठमाण्डौ । तीनवटा लघुवित्त संस्थाहरुले नेपाल धितोपत्र बोर्डबाट ८ करोड २० लाख मूल्यको ८ लाख २० हजार कित्ता सेयर इनिसियल पब्लिक अफरिङ(आइपीओ) गर्ने अन्तिम अनुमति पाएका छन् । 

आरएसडिसी लघुवित्त बित्तीय संस्था लिमीटेड, सूर्योदय लघुवित्त बित्तीय संस्था र नेशनल माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडले आइपीओ निश्कासनको अन्तिम अनुमति पाएका हुन् । 

सबैभन्दा धेरै आरएसडीसी लघुवित्त बित्तीय संस्थाले ४ करोड मूल्यको ४ लाख कित्ता आइपीओको अनुमति पाएको छ । 

यो संस्थाको आइपीओको बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेड रहेका छन् । आरएसडीसीका सीइओ दामोदर जोशीका अनुसार आइपीओका लागि अन्तिम स्वीकृति प्राप्त भइसकेका कारण साउन अन्तिमसम्ममा आइपीओका लागि सर्वसाधारणले आवेदन दिनसक्ने व्यवस्था मिलाइनेछ । 

यो संस्थाले चालु आर्थिक वर्षको ९ महिनामा १ करोड ५ लाख खूद नाफा आर्जन गरेको थियो । यो संस्थाको अधिकृत पूँजी २० करोड, जारी पूँजी १० करोड रहेको छ भने चुक्तापूँजी ६ करोड रुपैयाँ रहेको छ । ४ करोडको आइपीओ निश्कासनपछि चुक्तापूँजी १० करोड पुग्नेछ । 

इक्रा नेपालले यो संस्थाको आइपीओलाई ग्रेड ४ को रेटिङ प्रदान गरेको छ, जुन मध्यम स्तरको रेटिङ हो । 

यसैगरी, नेशनल माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडले ३ करोड मूल्यको ३ लाख कित्ता सेयर आइपीओको अन्तिम स्वीकृति प्राप्त गरेको छ । संस्थाका एक अधिकारीका अनुसार धितोपत्र बोर्डबाट प्राप्त अनुमति अनुसार आगामी साउन २४ गतेबाट आइपीओको निश्कासन सुरु हुनेछ । यो संस्थाको आइपीओको बिक्री प्रबन्धक पनि एनआइबिएल क्यापिटल नै रहेको छ । यो संस्थाले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा २ करोड ७२ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । यो माइक्रो फाइनान्सको चुक्तापूँजी ७ करोड रुपैयाँ रहेको छ । 

उता, सूर्योदय लघुवित्त बित्तीय संस्था लिमीटेडले पनि बोर्डबाट १ लाख २० करोड मूल्यको १ लाख २० हजार कित्ता सेयर आइपीओको अन्तिम स्वीकृति पाएको छ । 

यो संस्थाको आइपीओको बिक्री प्रबन्धक भने ग्लोबल आइएमई क्यापिटल रहेको छ । यो संस्थाका एक अधिकारीका अनुसार साउनभित्रमा स्वीकृत आइपीओको निश्कासन थालिनेछ । 

यो संस्थाको मुख्य कार्यालय स्याङ्जाको पुतलीबजार रहे पनि कारोबार भने बाग्लुङ, म्याग्दी, पर्वत, मनाङ, लमजुङ, मुस्ताङ, गुल्मी, प्यूठान र रोल्पामा समेत फैलिएको छ । यो संस्थाले चालु आबको ९ महिनाको अवधिमा १ करोड १४ लाख खूद नाफा आर्जन गरेको थियो । यो कम्पनीको चुक्तापुँजी चाहि २ करोड ८० लाख मात्र छ ।