काठमाण्डौ । एनसीसी बैंकको नेतृत्वमा ६ वटा बैंक तथा बित्तीय संस्थाबीचको मर्जर प्रक्रियाबाट अढाई महिनाअघि बाहिरिएर राष्ट्रबैंकको संभावित कारबाहीको सूचिमा परेको कुमारी बैंकले तीन विकास बैंक र एक फाइनान्स कम्पनीलाई आफूमा गाभ्ने(एक्वायर गर्ने) सम्झौता गरेको छ । 

कुमारी बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई अक्वायर गर्ने आइतबार साँझ सम्झौता गरेको हो । 

अढाई महिनाअघि एनसीसी बैंकसँगको मर्जर प्रक्रिया टुटेपछि कुमारी बैंकले मर्जर तथा एक्वायरका लागि पार्टनरको खोजीलाई तीब्र बनाएको थियो ।

एक्वायर सम्बन्धी सम्झौतापत्रमा कुमारी बैंकका मर्जर कमिटी संयोजक डा. शोभाकान्त ढकाल, काष्ठमण्डपका मर्जर कमिटी संयोजक कृष्ण ज्ञवाली, महाकालीका सञ्चालक डिलाराम खरेल, काँक्रेबिहारका सञ्चालक राजकुमार गुरुङ र पश्चिमाञ्चलका सञ्चालक ज्ञानेन्द्र कसजूले हस्ताक्षर गरेका छन् । 

काष्ठमण्डप डेभलपमेन्ट बैंकले यसअघि राष्ट्रियस्तरको विकास बैंक बन्ने ध्येयसहित महाकाली, काँक्रेबिहार र पश्चिमाञ्चललाई एक्वायर गर्ने सम्झौता गर्दै प्रक्रिया सुरुवातको अनुमति माग्दै नियामक नेपाल राष्टबैंकमा आवेदन दिएको थियो । 

अरुलाई आफूमा गाभ्ने प्रक्रिया सुरुवातको चरणमा रहेको काष्ठमण्डपले कुमारीसँग कुरा मिलेपछि आफ्नो प्रक्रिया स्थगित गरी नयाँ प्रक्रिया सुरुवात गरिने स्पष्ट पारेको छ । 

गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ०७४ असार मसान्तसम्म वाणिज्य बैंकको चुक्तापूँजी ८ अर्ब र विकास बैंकको २ अर्ब ५० करोड हुनुपर्ने व्यवस्था गरेपछि बैंक तथा बित्तीय संस्थाबीच मर्जर तथा एक्वायरको लहर नै चलेको हो । 

कुमारी बैंकको संचालक समितिका एक सदस्यका अनुसार ४ वटा बित्तीय संस्थालाई एक्वायर गरेपछि कुमारी बैंकको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ पुग्नेछ । त्यसैगरी, देशभरमा ८० वटा शाखा पुग्नेछन् । एक्वायरपछि बन्ने संस्थाको निक्षेप ५० अर्ब र कर्जा ४१ अर्ब रुपैयाँ पुग्नेछ । एक्वायर सफलतापूर्वक सम्पन्न भएपछि कुमारी बैंक एक बलियो वाणिज्य बैंकको रुपमा उदाउन आशा गरिएको छ ।