काठमाडौँ। नेपाल धितोपत्र बोर्डले ९४ करोड रुपैयाँको तीन लाखबराबरको हकप्रद शेयर निष्कासन गर्न विभिन्न तीन कम्पनीलाई स्वीकृति दिएको छ ।

बोर्डका अनुसार एसियन लाइफ इन्स्योरेन्स, फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र कामना सेवा विकास बैंकलाई हकप्रद शेयर निष्कासनका लागि सोमबार स्वीकृति दिइएको छ । एसियन लाइफ इन्स्योरेन्सले दश कित्ता बराबर एक पाउने गरी ४० करोड २७ लाख ९६ हजार ६२० बराबरको रु ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद शेयर निष्कासनका लागि स्वीकृति दिइएको छ । हकप्रद शेयर निष्कासनका लागि एनआइबिएल क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

यस्तै फस्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्थाले रु २२ करोड ८१ लाख ३१ हजार ३०० मूल्यबराबरको २२ लाख ८१ हजार ३१३ कित्ता हकप्रद शेयर निष्कासनको स्वीकृति दिएको बोर्डले जनाएको छ । फस्ट माइक्रोफाइनान्स लघु वित्तको हकप्रद शेयर निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । सो कम्पनीले दुई कित्ताबराबर एक पाउने गरी हकप्रद निष्कासन गर्न लागेको छ ।

यस्तै कामना सेवा विकास बैंकले रु ३० करोड ९४ लाख १५ हजार ४७७ मूल्यबराबरको ३० लाख ९४ हजार १५४ कित्ता हकप्रद शेयर निष्कासनका लागि स्वीकृति दिइएको हो । कामना सेवाको हकप्रदका लागि एनएमबी क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ । कामनाले दश कित्ता बराबर एक दशमलब पाँच कित्ता हकप्रद शेयर दिनेछ ।