काठमाण्डौ । शाखा बिस्तार र ब्राण्डिङमा आक्रामक बन्दै आएको एनआइसी एशिया बैंकको व्यवसाय बिस्तारको शैलीलाई धेरैले पछ्याउन थालेका छन् । एनआइसी एशियाको रणनीति सफल बन्दै गएपछि अन्य बैंकहरु समेत ब्राण्डिङमा दिल खोलेर खर्च गरिरहेका छन् भने सेवा बिस्तारमा समेत उत्तिकै आक्रामक देखिएका छन् । 

एनआइसी एशियाको आक्रामक रणनीति सफल बन्दै गएका कारण उसको आगामी दिनमा हुनसक्ने मुनाफा निकै माथि जानसक्ने आँकलनहरु भइरहेका छन् । यही क्रममा एनआइसी एशिया बैंकले आगामी ३ वटा आर्थिक वर्षसम्मको प्रक्षेपित मुनाफा सार्वजनिक गरेको छ । 

बैंकले जारी गर्न लागेको ऋणपत्रका लागि प्रकाशित गरेको आह्वानपत्रमा अबको तीन वर्षपछि एनआइसी एशियाले खूद मुनाफा मात्रै ७ अर्ब भन्दा बढी कमाउने प्रक्षेपण गरिएको छ । यो भनेको आर्थिक वर्ष ०७७/७८ को प्रक्षेपित मुनाफा हो । 

बैंकले त्यसअघि आर्थिक वर्ष ०७६/७७ मा ५ अर्ब १९ करोड र ०७५/७६ मा २ अर्ब ७५ करोड खूद नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब १९ करोड खूद नाफा कमाएको छ ।

बैंकको तीन वर्षपछिको संचालन नाफा ११ अर्ब भन्दा माथि पुग्ने अनुमान गरिएको छ । 

बैंकले आगामी तीन वर्षपछि १२ अर्ब ५२ करोड भन्दा बढी खूद ब्याज आम्दानी हुने प्रक्षेपण समेत गरेको छ । त्यसअघि आ.ब. २०७६/७७ मा ९ अर्ब ८६ करोड र ०७५/७६ मा ७ अर्ब ६ करोड खूद ब्याज आम्दानीको प्रक्षेपण गरिएको छ । 

कम्पनीले आर्थिक वर्ष ०७७-७८ मा सेयरधनीलाई १ अर्ब ६० करोड बढी लाभांश वितरण गर्न सकिने अनुमान समेत सार्वजनिक गरेको छ । कम्पनीले ०७५/७६ का लागि ८८ करोड बढीको, ०७६/७७ मा ९७ करोड बढीको बोनस सेयर वितरण गर्नसक्ने समेत देखिएको छ । 

२०७५/७६ मा प्रतिसेयर आम्दानी १४४.४० रुपैयाँ हुने, ०७६/७७ मा १७९.४१ रुपैयाँ र ०७७/७८ मा २३०.३१ रुपैयाँ प्रतिसेयर आम्दानी कायम हुनसक्ने बैंकको प्रक्षेपण छ । 

हाल ३ अर्ब २३ करोडमा सीमित जगेडाकोषको आकार बढी तीन वर्षपछि १४ अर्बको हाराहारीमा पुग्ने समेत प्रक्षेपण गरिएको छ । 

बैंकको प्रक्षेपण यथार्थमा परिणत हुन सकेको खण्डमा तीन वर्षपछि नै एनआइसी एशिया बैंकले अन्य धेरै वाणिज्य बैंकलाई पछाडि पार्नसक्ने निश्चित देखिन्छ ।