काठमाण्डौ । सेयर बजारका प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्यालले नेप्सेको बुहप्रतिक्षित ‘बुल रन’ सुरु भइसकेको प्रष्ट पार्दै ३ हप्ताभित्रै नेप्से बढेर १३९० सम्मको विन्दूमा पुग्नसक्ने प्रक्षेपण गरेका छन् । 

बिजशालासँग कुरा गर्दै प्राविधिक विश्लेषक बस्यालले यस्तो प्रक्षेपण गरेका हुन् । 

‘बजारमा बुल रन सुरु भइसक्यो ।’ उनले भने–‘यो रनको सुरुवाती टार्गेट न्यूनतम १३०० देखि अधिकतम १३९० सम्म देखिन्छ । यसका लागि २–३ हप्ता समय लाग्नसक्छ ।’ 

प्राइमरी डिग्रीको थर्ड वेभको सुरुवात भइसकेको उल्लेख गर्दै नेप्से परिसूचक अबको ५० महिनामा ६००० विन्दूभन्दा माथि पुग्ने उनको दाबी छ । ‘२०२४ को अगस्टभित्रमा नेप्से ६००० विन्दूभन्दा माथि जान्छ ।’ उनले भने–‘सर्टटर्मको कुरा गर्दा १३९० सम्म जान सक्छ । त्यसपछि फेरि १०० प्वाइन्टको करेक्सन हुन्छ ।’ 

उनको विश्लेषणमा सन् २०२० को अन्त वा २०२१ को फ्रस्ट क्वार्टरसम्ममा नेप्से परिसूचक अलटाइम हाईलाई ब्रेक गरेर उकालो लाग्नेछ । यसको अर्थ १८८१ भन्दा पनि बजार माथि पुग्ने संभावना देखिएको छ । 

‘अलटाइम हाईलाई ब्रेक गरेपछि ठूलो करेक्सन आउँछ । यसरी सबै काउण्ट गर्दै जाँदा ५० महिनामा इण्डेक्स ६ हजार माथि पुग्छ ।’ उनले आफ्नो प्रक्षेपण सार्वजनिक गर्दै भनेका छन् ।  

‘बुल रन’ सुरु भएको बजारमा कुन–कुन सेक्टरको लगानी सुरक्षित र बढी नाफामूलक होला ? बस्यालको भनाईमा माइक्रोफाइनान्स र बैंकिङ सेक्टरमा एक्स्ट्रिम बुल हुने देखिन्छ । विकास बैंक, उत्पादन तथा प्रशोधन समूह र होटलमा समेत बुल सुरु हुनेछ । उनले होटलमा समेत राम्रो अवसर देखिएको दाबी गरे । ‘बिमा र हाइड्रोपावरमा पनि बुलिस ट्रेण्ड आउँछ, तर यो धेरै टिक्दैन । त्यसपछि करेक्टिभ मोडमा जानेछ ।’ उनले थपे । 
बस्यालका अनुसार सर्टटर्मका लागि सबै सेक्टरको उपसूचकमा उछाल आउने संभावना देखिन्छ । 

‘अहिले सुरु भएको बुल रन अब न्यूनतम पनि ४ वर्षसम्म रहन्छ ।’ उनले भने । 

लगानीकर्ताले ध्यान दिनुपर्ने कुरा
बुल रनमा लगानी गर्दा लगानीकर्ताले के कुरामा ध्यान दिनुपर्ला त ? बिजशालाको प्रश्नमा बस्याल भन्छन्–‘यो बेलामा आफ्नो राम्रो नेटवर्थ क्रियट गर्न चाहनुहुन्छ भने इपीएसको राम्रो ग्रोथ भएको कम्पनी मात्र हेर्नुहोला । पुरानो बुलमा जस्तो राइट र बोनसको पछाडि लाग्न थाल्नुभयो भने डूब्नुहुन्छ ।’

उनले राइट र बोनस सेयरको लोभमा लगानी गर्ने प्रवृतिबाट आफूलाई टाढै राख्न लगानीकर्तालाई आग्रह गर्दै बुल मार्केटमा हाइड्रोपावर सेक्टरलाई अभोइड(तिरस्कार) गर्न समेत सुझाए ।