काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण तीन महिनादेखि बन्द रहेको पाठाओ र टुटलको सेवा पुनः सुरु भएको छ।

सरकारले लकडाउन खुलुको पार्दै निजी सवारीसाधनमा जोर–बिजोर प्रणालीमा चल्न दिए पनि सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने अनुमति दिएको छैन। सार्वजनिक सवारीसाधन नचल्दा अप्ठेरोमा परेका सर्वसाधारणलाई सहज होस् भनेर आफूहरुले सेवा सुरु गरेको पाठाओ र टुटलले जनाएका छन्। दुवै संस्थाले स्वास्थ्य सुरक्षा मापदण्डलाई ध्यानमा राखेर सेवा सुरु गरेको बताएका छन्। 

दुवै संस्थाले ग्राहकलाई सेवा दिन पुग्ने चाकलाई अनिवार्य रुपमा ग्लब्स, मास्क, चस्मा र सेनिटाइजर प्रयोग गर्न भनिएको बताएका छन्। 

पठाओले अहिले दैनिक ५० जना राइडरलाई सेवा सञ्चालनको अनुमति दिएको छ। पठाओमा आबद्ध राइडरले अनिवार्य रुपमा प्रोटेक्टिभ सुट लगाउनुपर्नेछ। 

पठाओले राइडरबाट लिने कमिसन र यात्रुले तिर्नुपर्ने शुल्कमा कुनै परिमार्जन नगरिएको स्पष्ट पारेको छ। 

यता टुटलले भने यो महामारीको अवधिभर राइडरबाट कुनै कमिसन नलिने जनाएको छ। यसले गर्दा यात्रुले तिर्ने शुल्क पनि घट्ने टुटलले जनाएको छ।