काठमाण्डौ । तीन लघुवित्तले आपसमा मर्ज भएर आउँदो भदौ २२ गते सोमबारदेखि जीवन विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्दैछन्। 

जीवन विकास लघुवित्त, सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्था आपसमा गाभिएर एकीकृत कारोबार सुृरु गर्ने भएका हुन्। यी तीन लघुवित्त गाभिएपछि बनेको नयाँ लघुवित्त संस्थाको नाम जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड राख्ने सहमति भएको छ।

मर्जरपछि यो लघुवित्तलाई नेपाल राष्ट्र बैंकले गत साउन २६ गते एकीकृत कारोबार सुरु गर्न अन्तिम स्वीकृति दिएको थियो। सोही मितिमा कम्पनी रजिस्ट्रारको कार्यालयबाट यो लघुवित्त स्वीकृति प्राप्त गरिसकेको छ। 

एकीकृत कारोबार सुरु गर्न डाटा माइग्रेसन प्रयोजनका लागि यी तीनवटै संस्थाले प्रदान गर्दै आएका सम्पूर्ण बैंकिङ कारोबार भदौ १९ गतेदेखि २१ गतेसम्म तीन दिनका लागि बन्द हुने संस्थाले जनाएको छ।