काठमाण्डौ । करिब तीन वर्षको घटना हो । बेलायतको ब्रिस्टल सहरमा निर्धारित गति उल्लंघन गर्दै तीव्रगतिमा कार चलाएको भन्दै स्थानीय ७१ वर्षीय रिचर्ड किडवेलको घरमा नोटिस आयो । नोटिसमा तीव्रगतिमा कार चलाएको भन्दै रिचर्र्डलाई १४ हजार रुपैयाँ (१०० पाउन्ड) जरिवानाको रसिद पठाइएको थियो ।

रिचर्ड माथि ४८ किलोमिटर प्रतिघन्टा स्पिड जोनमा ५६ किलोमिटर प्रतिघन्टाको गतिमा कार चलाएको भन्दै जरिवाना गरिएको थियो । तर रिचर्डलाई विश्वास थियो उनले निर्धारित गतिभन्दा बढी गतिमा कार चलाएका छैनन् ।

रिचर्डले यो नोटिसविरुद्ध करिब तीन वर्ष अदालतमा मुद्दा लडे । अदालतमा मुद्दा लड्दा उनले तीन वर्षको अवधिमा करिब ४२ लाख रुपैयाँ सकेका छन् । जसमा करिब २९ लाख वकिलको फिसमा र बाँकी रकम अदालती प्रक्रियामा सकेका छन् ।

ब्रिस्टलनजिकै येटमा बसोबास गर्ने रिटार्यड इन्जिनियर रिचर्डको दाबी छ कि सन् २०१६ नोभेम्बरको रात उनले निर्धारित ४८ किलोमिटर प्रतिघन्टाकै गतिमा कार चलाएका थिए । तर निर्धारित गति उल्लंघनको आरोपमा नोटिस पाएपछि उनी हैरान भए ।

रिचर्डले प्रहरीकोमा गएर यो नोटिसको कुनै जबाफ नदिने बताए । उनका वकिलले जुन क्यामेरामा उनको करको छवि देखिएको थियो, त्यो चलिरहेको थियो । तर रिचर्डले क्यामेराको रेकर्डिङमा गल्ती हुन सक्ने भन्दै नोटिसविरुद्ध अदालतमा मुद्दा लड्ने प्रण लिए ।

रिचर्डले अहिले मजिस्ट्रेट अदालतमा मुद्दा हारेका छन् । उनले हालै उच्च अदालतमा अपिल दर्ता गरेका छन् । उनी भन्छन्, ‘अब फैसला जेहोस् तर मैले थुप्रै रकम गुमाइसकेको छु । म यो कानुनी उल्झनमा फसेर थाकिसकेँ ।’ –एजेन्सी