– भक्तराज रसाइली

काठमाण्डौ । पूँजीबजारले विभिन्न क्षेत्र, तह र तप्काका व्यक्तित्वलाई आकर्षणमा पारेको देखिन्छ । लगानीको कुनै दायरा नभएको र थोरै रकम पनि पूँजीबजारमा लगानी गर्न सहज ठाउँसमेत बन्दै गएकाले पछिल्लो समय युवा तथा विद्यार्थी यसप्रति निकै आकर्षित बन्दै गएका छन् ।

विशेषतः व्यवस्थापन विषयका विद्यार्थी पाठ्यक्रममै अध्ययन गर्नुपर्ने भएकाले समेत पूँजीबजारमा आकर्षित रहेको पाइन्छ । यो साता एक व्यवस्थापन विषयका विद्यार्थीको सेयर बजारबारे रोचक कथा लिएर आएका छौँ ।

युवा लगानीकर्ता कमल पन्थी एमबीएका विद्यार्थी हुन् । २५ वर्षीय पन्थीको जन्मघर गुल्मीको खज्र्याङ हो । उनी हाल काठमाण्डौ शंखमुलमा बसोबास गर्दै आएका छन् ।

२०७४ सालमा तीनजना साथीहरू मिलेर पन्थीले रिलायबल इन्भेस्टमेन्ट कम्पनी प्रालिको स्थापना गरे । त्यहाँ उनी पोर्टफोलियो मेनेजरको भूमिका निर्वाह गर्दै आएका छन् ।

पन्थीको कम्पनीले हाल सेयर, रियल स्टेट र सुनमा लगानी गर्दै आइरहेको छ । त्यससँगै पन्थीले एपोजी एकेडेमी २०७५ मा खोले । एकेडेमीका एमडीसमेत रहेका पन्थी एकेडमीमा सेयर तालिम, भ्याट तालिमलगायतका सेवाहरु रहेको बताउँछन् । यसका साथै पन्थी सेयरबजारमा व्यक्तिगत लगानीकर्तासमेत हुन् ।

बैंकर बन्ने सपना बोकेर उच्च शिक्षा अध्ययनका लागि २०६५ सालमा राजधानी छिरेका पन्थीले बीबीएको पढाइ सकिनसाथ स्ट्यान्डर्ड चार्टर्ड बैंक केन्द्रीय कार्यालयमा ऋण विभागमा जागिरे बने । त्यहाँ ६ महिना काम गरेपछि पन्थीमा विदेश जाने रहर जाग्यो । अनि उनले क्यानडा आवेदन पनि भरे तर दुर्भाग्यवश भिजा रिजेक्ट भयो । त्यसपछि उनले नेपाल लाइफ इन्स्योरेन्समा अकाउन्टेन्टको जागिरमा हात हाल्न पुगे । तर जागिरले भनेजस्तो नभएपछि उनले आफ्नै इन्भेस्टमेन्ट कम्पनी खोले ।

पहिले पन्थी भैँसेपाटी बस्थे । कलेजबाट फर्किंदा बैंकहरुमा बाक्लो लाइन बाटोमा देख्दथे । थाहै नपाई उनमा पनि लाइनमा बस्ने रहर जागेछ । अनि त्यही रहर नै आज उनको व्यवसायको पाटो बनिरहेको छ ।

बैंकमा ५–६ घन्टा लाइन लागेर पन्थीले आईपीओमा आवेदन गर्दै पूँजीबजारको पहिलो ढोका प्राथमिक बजारमा होम्मिन पुगे । २०६८ सालताका मेगा बैंकको आईपीओमा ५० कित्ता सेयर आवेदन गर्दा पन्थीलाई ३० कित्ता हाता परेछ । घरबाट खर्च पठाइएका पैसालाई उनले सेयर बजारमै खन्याउनु थाले । सेयर किन्ने नशामा उनले कहिलेकाहीँ कलेज फी तिर्न ढिलाइ भएर प्रवेशपत्र पनि नपाएको घटना पन्थीले निक्कै भावुक हुँदै सुनाए ।

प्राथमिक बजारमा पाइला चालेको दुई वर्षपछि मात्रै दोस्रो बजारमा छिरेका पन्थी साथी गोविन्द कार्कीकै लहडमा आएको बताउँछन् । आफ्नै गाउँको रिडी हाइड्रोपावरको १ सय कित्ता सेयर प्रतिकित्ता ३५० रुपैयाँमा दोस्रो बजारबाट किनेर छिर्दा पन्थी बीबीए अध्ययनरत थिए ।

सेयरबारे आधारभूत र प्राविधिक तालिम क्रमशः डेढ र दुई महिनासमेत लिएका पन्थी आफूलाई मध्यम लगानीकर्ता ठान्छन् । सेयर बजारका भेट्रान लगानीकर्ता अम्बिकाप्रसाद पौडेलबाट धेरै प्रभावित पन्थी १४ सय नेप्से इन्डेक्स हुँदा सेयर उठाई १८५० नेप्से इन्डेक्स पुगेपछि सबै सेयर बेच्न भ्याएको अनुभव सुनाउँछन् ।

राम्रो प्रतिफल भएका र राम्रा भविष्य बोकेका कम्पनीहरूका पोर्टफोलियो समावेश गरेको जिकिर गरेका पन्थीले वार्षिक २०–३० प्रतिशत लाभांश दिने कम्पनीहरुमा लगानी गरिएको बताए । सेयर बजार अत्यन्तै सेन्सेटिभ क्षेत्र भएको बताउने पन्थीले बिजशालासँग भने, ‘उसले कमायो भने मैले नकमाउन सक्छु । उच्च प्रतिफल र उच्च घाटा पनि हुन बेर लाग्दैन ।’

पन्थीका अनुसार ९० प्रतिशतले गुमाउने र बाँकी १० प्रतिशतले कमाउने क्षेत्र नै सेयर बजार हो । सुरुआतमा गरेको सेयर लगानीमा धेरै गल्ती गरेको र त्यसलाई पाठका रूपमा लिइरहेको बताउने पन्थी घाटा खाएर पनि सेयर बेचेको र पढ्न पठाएको छोरो सेयर बजारको प्यासनले यतै अभ्यस्त बनेको रोचक स्मरण सुनाउँछन् ।

जागिरमा सीमित आम्दानी देखेर मन नभुलाएका पन्थी लगानीमा आधारित प्रतिफल पाउने ठाउँ सेयर बजार भएको तर्क राख्छन् । ‘सानो लगानीले धेरै प्रतिफलको सम्भावना छ, यसमा’, पन्थी भन्छन्, ‘ससानो लगानीले राम्रो प्रतिफल पाउने लालसामा सेयर बजार प्रवेश गरेको हुँ।’

नियमित रूपमा सेयर बजारबारे अपडेट हुनुपर्ने तर्क गर्दै पन्थीले भित्री प्यासनको जरुरत पर्ने पनि बताउँछन् । सेयर बजारबारे ज्ञान, तालिम र अध्ययन गरेरमात्रै सेयर बजार छिर्न उनले नयाँ लगानीकर्तालाई सुझाए । आईपीओबाट सुरुआत गर्दै केही वर्षपछि मात्रै दोश्रो बजार छिर्न उनले सल्लाह दिए ।

नियामकद्वय सेबोन र नेप्सेको मतभेद वर्षौंदेखि देखिँदै आएकोमा पन्थीले असन्तुष्टि पोखे । जिम्मेवारी बोधका साथ कमिसनको चलखेलमा नलाग्न उनले चेतावनीसमेत दिए ।

यता लगानीकर्ताहरुको धेरै संगठन नचाहिने पार्टी संगठनमा परिणत भइरहेको भन्दै पन्थीले आक्रोश पोखे । पन्थी पनि राधा पोख्रेल नेतृत्व नेपाल पूँजीबजार लगानीकर्ता संघमा सदस्य छन् ।

पन्थीले सरकारबाट आउने अस्वभाविक नीति–निर्देशनले पूँजीबजारलाई कर उठाउने ठाउँमात्र बनाएको आरोपसमेत लगाए। पूँजीगत लाभकर गणना विवादले मार्केट प्यानिक बनिरहेको उनको भनाइ छ ।

सेयर बजारबाट चाहिँ के पाउनु र गुमाउनुभयो भन्ने बिजशालाको जिज्ञासामा पन्थी भन्छन्, ‘कमाएको पनि छु, गुमाएको पनि छु ।’ केही लाखलाई पोर्टफोलियो व्यवस्थापन गर्दै बढाएको संकेत उनले गरे ।

फर्वाड लघुवित्तको आईपीओ, शिखर इन्स्योरेन्स र एनएलआइसीको एफपीओ क्रमशः १००, ६०० र १ हजार ४२५ रुपैयाँमा खरिद गरेर क्रमशः ४ हजार, ३६ सय र ४२ सयमा बेच्न भ्याएका पन्थी भन्छन्, ‘दोस्रो बजारमा एभरेस्ट बैंकको सेयर १८ सयमा किनेर ३८ सयमा समेत बेचेको छु ।’

पन्थले सगरमाथा इन्स्योरेन्सको सेयर १४ सयमा किनेर २४ सयमा बेचेर नाफा कुम्ल्याएको प्रसंगसमेत कोट्याए । त्यसो त किसान माइक्रो फाइनान्सको सेयर १७ सयमा खरिद गरेका पन्थीले ९ सयमा घाटै खाएरैसमेत बेचेको अनि कालिका माइक्रो फाइनान्सको सेयर १२ सयमा किनेर ५ सयमै पनि बेच्नुपरेको सुनाउन भ्याए।

दृढ अठोट र जोखिम क्षमता वहन गर्दै राम्रा कम्पनीका सेयर आफूसँग भएको र आज घटेको बजारमा गुमाइएको देखिए पनि भोलिको दिनमा कमाउनेमा पन्थी आशावादी र ढुक्क छन् ।

आमयुवालाई आम्दानीको पाटो बनाउन सकिने र फजुल खर्चलाई राम्रा कम्पनीको सेयरमा लगानी गरिए भविष्यमा राम्रो प्रतिफल पाउने सकिने पन्थीको भनाइ छ । पूँजीबजारले फन्ड संकलन र बचतलाई लगानी गर्न मिल्ने सहज क्षेत्र भएको उनको ठम्याइ छ ।

आगामी दिनमा समेत सेयर बजारमै सक्रिय रहने प्रतिबद्धता गरेका पन्थीले कृषि व्यवसायमा समेत हात हाल्ने योजना रहेको खुलाए । अबका निकट दिनहरुमा देशको अर्थतन्त्रको सूचक बढ्ने आशासँगै नेप्से सूचकसमेत बढ्ने उनी आशावादी छन् ।

मुलुकले एकातिर स्वदेशमा रोजगारी दिलाउने प्रतिबद्धता जाहेर गर्ने अनि पछिल्ला दिनमा वैदेशिक रोजगारीका लागि नयाँ–नयाँ मुलुकसँग श्रम सम्बन्ध बढाउने सरकारको दोधारे रणनीतिले युवावर्गमा अन्योलता छाएकै छ । विकासोन्मुख मुलुक नेपालमा पूँजीको अभाव रहन्छ, जसलाई पूँजी प्रवाहको उपयुक्त माध्यम पूँजीबजार नै हो ।

युवावर्गलाई पूँजीबजारमा आकार्षित गर्न सरकारको बेलैमा ध्यानाकर्षण हुन जरुरी छ । मुलुकले अंगिकार गरेको आर्थिक समृद्धको सपना पूरा गर्न युवालाई पूँजीबजारमा विशेष सुविधा दिन सरकारले कन्जुस्याइँ गर्नुहुँदैन ।