काठमाण्डौ । लुम्बिनी र जनकपुर जान नपाएको झोंकमा नेपालमा ५ महिनासम्म नाकाबन्दी गरेपछि चिसिएको सम्बन्ध सुधार्ने ध्याउन्नमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लागिपरेका खुलासा भएको छ । 

नाकाबन्दी, त्यसपछि नेपालविरुद्ध अन्तर्राष्ट्रिय मञ्चहरुमा उनले गर्दै हिँडेको मोर्चाबन्दीका कारण नरेन्द्र मोदीको नेपालसँगको सम्बन्ध निकै चिसिएको छ । अर्कोतर्फ नेपालको सीमावर्ती भारतीय राज्य बिहारका मुख्यमन्त्री नीतिशकुमारसँग पनि उनको सम्बन्ध राम्रो छैन । निकै चतुर्याईं गर्नसक्ने नेताको रुपमा चिनिएका भारतीय प्रम मोदीले यी दुवै सम्बन्धहरुलाई सुधार्नका लागि ‘बुद्धजयन्ती’को तीर हान्ने रणनीति बनाएका छन् । बुद्ध जयन्तीमा नेपाल आएर सम्बन्ध सुधार्ने र सो क्रममा नेपाल आउँदा प्रोटोकलको कुरामा समेत केही नरम भई  बिहारका मुख्यमन्त्रीलाई समेत साथमै लिएर आई उनीसँगको सम्बन्ध पनि सुधार्ने मोदीको योजना सार्वजनिक भएको हो ।

भारतीय पत्रिका द टेलिग्राफले मोदीलाई मे २१ मा आयोजना हुने बुद्धजयन्तीमा सहभागी हुन नेपालले अनुरोध गरेको उल्लेख गर्दै सो क्रममा नीतिशकुमारलाई पनि त्यस्तो निमन्त्रणा पठाउन लगाएर मोदी उनीसँगै नेपाल आउन खोजेका बताएको छ । टेलिग्राफका अनुसार बैशाख पूर्णिम मोदीले योपटक नेपालमै मनाउने चाहना समेत व्यक्त गरेका छन् । 

भारतीय जनता पार्टी निकट स्रोतलाई उद्धृत गर्दै टेलिग्राफले लेखे अनुसार बुद्धजयन्तीमा नितिश कुमारलाई साथमै लिएर जाने योजनाअनुसार नरेन्द्र मोदीले टेलिफोन गरी कुमारलाई कन्भिन्स गर्नसक्ने संभावना छ । अथवा, प्रधानमन्त्री कार्यालयबाटै पत्र लेखेर समेत यस्तो अनुरोध नीतिश कुमारसम्म पुग्नसक्छ । सम्बन्ध सुधार्नैका लागि नीतिश कुमार सँग नरम भएर प्रस्तुत हुने मोदीको योजना रहेको पत्रिकाले दाबी गरेको छ । 

नेपाल सरकारले मोदीलाई बुद्धजयन्तीमा निमन्त्रणा गरिएको वा नगरिएको विषयमा केही प्रष्ट पारिसकेको छैन । तर टेलिग्राफले लेखे अनुसार नेपालबाट त्यस्तो निमन्त्रणा गइसकेकाले मे २१ मा मोदी प्रधानमन्त्री भएपछि तेश्रो पटक नेपाल आउने र सो क्रममा नेपालसँग चिसिएको सम्बन्ध समेत सुधार्नेछन् । मोदीले बुद्धजयन्तीको अवसरमा एक तीरबाट दुईवटा शिकार गर्न मिलाएको यो तारतम्य कत्तिको प्रभावकारी हुन्छ, त्यो भने भविष्यले नै बताउला ।