काठमाण्डौ ।  सरकारले दैनिक ३५०० सम्म नेपालीलाई विभिन्न मुलुकबाट स्वदेश फर्काउने कार्ययोजना तयार गरेको छ । 

एक सातादेखि १० दिनभित्रमा कम्तीमा २५ हजार नागरिकहरुलाई विभिन्न तेश्रो मुलुकबाट नेपाल फर्काउने कार्ययोजना तयार गरिएको हो। 

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समवन्य समितिको शुक्रबार बसेको बैठकले विदेशमा अलपत्र परेका र स्वदेश फर्कनैपर्ने अवस्था भएका नेपालीहरुलाई ल्याउने कार्ययोजनालाई अन्तिम रुप दिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिएका छन् । 

उनका अनुसार यसरी तेश्रो मुलुकबाट नागरिकहरुलाई स्वदेश ल्याउनका लागि मापदण्ड समेत तोकिएको छ । नेपाल आउनैपर्ने अवस्थामा रहेका नागरिकहरुलाई पहिलो प्राथमिकता दिएर स्वदेश ल्याइने उनले जानकारी दिए । 

सम्बन्धित मुलुकमा विविध कारणले सजाय तोकिएर माफी पाएर नेपाल आउनका लागि सम्बन्धित मुलुकबाट छुटकारा पाएका नेपालीहरु, डिटेन्सन सेन्टरमा रहेका र नेपाल आउन अनुमति पाएका व्यक्तिहरु, जुनसुकै कारणले बहिर्गमन भिसामा रहेका व्यक्तिहरु, आफन्तको मृत्यु भई काजकिरियाका लागि नेपाल आउनुपर्ने व्यक्तिहरु, श्रम करार अन्त भएका वा रोजगारी गुमाएका व्यक्तिहरु, कोभिडबाहेक अन्य कारणबाट गम्भीर स्वास्थ्य अवस्थामा रहेका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, सरकारी सेवामा रही अध्ययन वा तािलममा विदेश गएर अड्किएका व्यक्ति, अध्ययन समाप्त भएका विद्यार्थीहरु, नेपाल आउनुपर्ने अवस्थामा रहेका अध्ययनरत विद्यार्थीहरु, पारिवारिक पुनरमिलनका लागि गएका र फर्किने अवस्थामा रहेका व्यक्ति, कम्पनीबाट रोजगारीसहित अनिवार्य विदामा रहेका व्यक्ति, अन्तराष्ट्रिय संघसंस्थामा कार्यरत रहेर नेपाल आउनुपर्ने अवस्थामा रहेका व्यक्ति, पर्यटक तथा व्यापारिक भिसामा गएर बाहिर रोकिएका व्यक्तिहरुलाई फर्काउने व्यवस्था गर्ने निश्कर्षमा पुगिएको सचिव बिडारीले प्रष्ट्याए । 

त्यसरी फर्किन चाहनेहरुले सम्बन्धित मुलुकमा रहेका नेपालको कुटनीतिक नियोग तथा दूताबासमा आवेदन दिनुपर्नेछ र त्यसको सूचि तयार गरिनेछ । 

परराष्ट्र मन्त्रालयले स्वदेश फर्किनैपर्ने अवस्थामा रहेका नेपालीहरुको पहिचान तथा विवरण संकलन गर्ने र सो विवरणको आधारमा उनीहरुलाई फर्काउने प्रबन्धका लागि पर्यटन मन्त्रालयले समन्वय गर्ने निर्णय गरिएको बिडारीले जानकारी दिए । 

त्यसरी स्वदेश फर्किन चाहने नागरिकहरुलाई नेपाल वायुसेवा निगमको, अन्य निजी कम्पनीको जहाजमार्फत स्वदेश फर्काइनेछ । पहिलो प्राथमिकता नेपाल वायुसेवा निगम, दोश्रो निजी कम्पनी र तेश्रो प्राथमिकतामा भने विदेशी बायुसेवा कम्पनीको जहाज चार्टर गरेर समेत स्वदेश फर्काइने उनले जानकारी दिए । 

समितिका अनुसार नेपाल आउन चाहनेहरूले जहाजको भाडा भने आफैं तिर्नुपर्नेछ। यस्तै, काठमाडौं विमानस्थलमा आइसकेपछि उनीहरूलाई होटलमा राखिनेछ। होटलहरूको मेनु र शुल्क सरकारले तय गर्नेछ। फर्केकाहरूले आफ्नो क्षमताअनुसार होटल छान्न पाउनेछन्। र, त्यसको खर्च पनि उनीहरुले नै व्यहोर्नुपर्नेछ । 

होटलमा राखिएकाहरुको स्वास्थ्य परीक्षण गरिनेछ । जसमा कोरोना संक्रमण देखिन्न, तिनीहरुलाई बसमार्फत उनीहरुको घर रहेको क्षेत्रमा पुर्याइनेछ । त्यसपछि उनीहरुले स्थानीय तहले बनाएको क्वारेन्टिनमा १४ दिनसम्म बस्नुपर्नेछ । 

भारत र तेश्रो मुलुकबाट गरी करिब ६ लाख नेपालीलाई तत्काल स्वदेश फर्काउनुपर्ने अवस्था रहेको सरकारी विश्लेषण छ । 

भारतबाट फर्किनेहरुका लागि भने समितिले २० वटा नाका तोकिसकेको छ । सो सम्बन्धी सूचना राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।