काठमाण्डौ । आवेदन दिएको १३ महिनापछि एनएमबी बैंकलाई धितोपत्र बोर्डले एफपीओ निश्कासनको स्वीकृति दिएको छ । 

बैंकले १०० रुपैयाँ अंकित दरको साधारण सेयरमा २३३ रुपैयाँ प्रिमियम थपी प्रतिकित्ता ३३३ रुपैयाँको दरले १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता अतिरिक्त निश्कासनका लागि स्वीकृति पाएको हो । 

लामो समयसम्म रोकिएका कारण एनएमबी बैंकले एफपीओ निश्कासनका लागि धेरै समय लगाउने छैन । बैंक स्रोतकाअनुसार एक साताभित्रमा एफपीओ निश्कासन भइसक्नेछ।

निश्कासन खुल्ला भएको ४ कार्य दिनभित्र सम्पूर्ण सेयर खरीदका लागि सर्वसाधारणहरुबाट निवेदन प्राप्त नभएका संस्थागत लगानीकर्ताहरुले समेत आवेदन दिन पाउने व्यवस्था गरिएको छ । 

कम्पनीको एफपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम नागरिक लगानीकोषले गर्नेछ । 

यो बैंकले २०७४ बैशाख २० गते नै एफपीओ निश्कासनका लागि आवेदन दिएको थियो । तर, एफपीओ मूल्यमा अण्डरराइट गर्नेसँग कुरा नमिल्दा तथा राष्ट्रबैंकको नीतिगत व्यवस्थाका कारण समेत लामो समय रोकिएको थियो । एफपीओ निश्कासनको प्रक्रिया अगाडि नबढ्दा एनएमबी बैंकको पूँजी वृद्धि योजना समेत संकटमा परेको थियो । 

एफपीओबाट बैंकको चुक्तापूँजीमा १ अर्ब १४ करोड थप हुनेछ भने प्रिमियम बापत संकलन हुने २ अर्ब ६६ करोड जगेडाकोषमा जम्मा हुनेछ ।  

हाल यो बैंकको चुक्तापूँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । एफपीओपछि चुक्तापूँजी ७ अर्ब ६० करोडको उचाईमा पुुग्नेछ । यस्तै, एफपीओपछि सर्वसाधारण सेयरधनीको स्वामित्व अनुपात हालको ३९.९९ प्रतिशतबाट वृद्धि भई ४९ प्रतिशत पुुग्नेछ । हाल ६०.०१ प्रतिशत रहेको संस्थापक सेयर होल्डिङ घटेर ५१ प्रतिशतमा झर्नेछ ।

यो बैंकको एफपीओलाई इक्रा नेपालले इक्रा एनपी आइपीओ ग्रेड ३ को रेटिङ दिएको छ । यसले बैंकको अवस्था औसत रहेको भन्ने जनाउँछ र यस्तो कम्पनीमा लगानी गर्नु जोखिमपूर्ण मानिँदैन । 

यो बैंकको २०७३ पुस २४ गते सम्पन्न वार्षिक साधारणसभाले एफपीओबाट पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको थियो ।