काठमाण्डौ । चाइनिज बैंकबाट लिएको ७०० मिलियन डलर कर्जाको विषयमा परेको मुद्धाको सुनुवाईको क्रममा एशियाकै सबैभन्दा धनी मुकेश अम्बानीका भाई अनिल अम्बानीले यूकेस्थित एक अदालतमा सुन्दै अचम्म लाग्ने कुरा गरेका छन् । 

उनले सो क्रममा भनेका छन् कि म अहिले सामान्य मान्छेजस्तो भएको छु र अति नै सामान्य जिन्दगी गुजारिरहेको छु । 

तपाईलाई सुन्दा अचम्म लाग्ला, अहिले उनको बैंक ब्यालेन्स लाखमा सीमित बन्न पुगेको छ । एक रिपोर्टअनुसार सन् २०२० को जनवरी १ मा उनको बैंक ब्यालेन्स २१ लाख भारु मात्र रहेको थियो । 

अनिल अम्बानीले अदालतमा मुद्धा लड्ने क्रममा आफ्ना वकिलको फिस भर्न उनले गहना बेचिरहेका छन् । अम्बानीका अनुसार २०२० जनवरीदेखि जूनसम्मको अवधिमा उनले ९.९ करोड भारु बराबरको गहना बिक्री गरेका छन् । अब बिक्री गर्नलायक कुनै पनि चिज उनीसँग अब बाँकी छैन । 

आफ्नो जीवनशैलीको विषयमा बोल्दै उनले आफूसँग अहिले एउटा मात्र कार रहेको बताएका छन् । 'मैले कहिले पनि ऐसआरामको जिन्दगी बाँचेको छैन । मसँग कहिल्यै पनि महंगा गाडीहरु हुन्थेन ।'-उनले अदालतमा भनेका छन् । 

यूनाइटेड किंगडम अदालतले २२ मेमा भनेको थियो कि अनिल अम्बानीले २१ दिनभित्र करिब ५५०० करोड भारु तीन चाइनिज बैंकलाई तिर्नुपर्नेछ ।

अनिल अम्बानीले तिर्न सकेनन् । त्यसपछि १५ जूनमा इण्डष्टियल एण्ड कमर्सियल बैंक अफ चाइनाले अनिल अम्बानीलाई आफ्नो सम्पत्तिको विषयमा विस्तृत जानकारी दिन भनेको थियो । अम्बानीले जवाफमा भनेका छन् कि अहिले उनीसँग ७४ लाख भारु बराबरको मात्र सम्पत्ति रहेको छ । 

सन् २०१२ मा अनिल अम्बानीको कम्पनी रिलायन्स कम्युनिकेसनले तीन चाइनिज बैंकबाट ७०० मिलियन डलर बराबरको ऋण लिएको थियो । बैंकका अनुसार यो लोनका लागि अम्बानीले पर्सनल ग्यारेण्टी दिएका थिए । तर, अम्बानीले यही कुरालाई अहिले खण्डन गरिरहेका छन् । उनले आफूले सो लोनका लागि कहिल्यै पनि पर्सनल ग्यारेण्टी नदिएको बताइरहेका छन् । 

कुनै बेला यस्तो थियो, मुकेश अम्बानी र अनिल अम्बानीको सम्पत्तिमा थोरै मात्र अन्तर रहेको थियो । २००७ मा मुकेश अम्बानी भारतका सबैभन्दा धनी व्यक्ति थिए र अनिल अम्बानी पनि यो सूचीमा तेश्रो नम्बरमा थिए । अहिलेको अवस्थामा मूकेश अम्बानी एशियाकै धनी तथा विश्वकै टप १० धनीभित्र रहेका छन् भने अनिल अम्बानी भने यस्ता कुनै पनि सूचीमा छैनन् । सन् २००२ मा धिरुभाई अम्बानीको मृत्युपछि यी दुई भाईबीच कलह सुरु भएको थियो र २००५ मा सम्पत्ति बाँडफाँड भएको थियो । २००७ मा अनिल अम्बानीको कुल सम्पत्ति ४५ अर्ब डलर रहेको थियो । 

यो पनि पढ्नुहोला:

अस्वस्थ व्यावसायिक प्रतिस्पर्धाको परिणाम: दाजुका कारण भाईको टाट पल्टियो !