काठमाण्डौ । जिम्मेवार निकायमा बसेकाहरुले आफ्नै बोलीमा लगाम नलगाउँदा कसरी फस्छन् भन्ने उदाहरण बनेका छन् कानुनमन्त्री शेरबहादुर तामाङ । उनले आफ्नो बोलीमा लगाम नलगाउँदा मन्त्री पदबाटै हात धुनुपर्ने अवस्था सिर्जना भएको छ । 

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सोमबार अबेर रातिसम्म बसेको बैठकले उनलाई राजीनामा दिन निर्देशन दिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत उनलाई राजीनामा दिन निर्देशन दिइसकेका छन् । 

बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि मन्त्री तामाङ सर्वाधिक विवादमा तानिएका थिए । उनले आफ्नो अभिव्यक्तिप्रति लिखित माफी मागे पनि मन्त्री पद भने जोगिएन । 

उनले डा. गोविन्द केसीको आन्दोलन गलत रहेको पुष्टि गर्ने नाममा बोल्ने क्रममा बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मिता बेच्न परेको जस्ता आपत्तिजनक अभिव्यक्ति दिएका थिए । उनको त्यही अभिव्यक्ति उनी आफ्नै लागि गलपासो साबित भयो । 

स्रोतका अनुसार उनले मंगलबार(आज) दिउँसो २ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गर्दैछन् । 

उनले के भनेका थिए भिडियो हेर्नुहोस्: