एजेन्सी । इटली नजिक भूमध्यसागरमा प्रवासीहरुले खचाखच भरिएको एक डुंगा डूब्दै गर्दाको एक्सक्लूसिभ तस्विरहरु क्यामरामा कैद भएका छन् । 

यो घटनामा ठूलो डुंगामा चढेका ५६२ व्यक्तिलाई बचाइएको छ । तर हालसम्म ५ जना मानिसको मृत्यु भइसकेको बीबीसीले जनाएको छ । 

डूंगा ढलपल गरिरहँदा नजिकै रहेको एक उद्धारकर्ता जहाज देखेपछि मानिसहरु त्यसतर्फ अगाडि बढ्दा सन्तुलन बिग्रिएर नाउ पानीमा पल्टिएको बताइएको छ । 

आफ्नो ज्यान बचाउनका लागि प्रवासीमध्ये कतिपयले ढल्किएको डुंगालाई पक्रिएर बसे भने कतिपय डूंगा पल्टिनुअघि नै पानीमा हामफालेर ज्यान जोगाए । 

इटलीको बेटिका पेट्रोलिङ नाउले मानिसहरुको ज्यान बचाउनका लागि लाइफ ज्याकेट र हवा भरिएको साना नाउहरु समुन्द्रमा फाकिदिएको थियो । 

उद्धार अधिकारीहरुले डुंगामै रहेका मानिसहरुलाई शान्त भएर एकैठाउँमा भेला हुन, नहडबडाउन भनी अनुरोध गरेका र बिस्तारै एक एक गर्दै सबैको उद्धार गरेका थिए । 

एक उद्धारकर्ताका अनुसार मानिसहरु निकै डराएका थिए र उनीहरुको कुरा समेत सुनिरहेका थिएनन्, कारण नाउ क्रमशः पानीमा डूबिरहेको थियो । 

सबै तस्विरहरु : एपी