काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलले संभवत देशमै पहिलोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा निःशुल्क आकस्मिक स्वास्थ्यउपचार क्लिनिक स्थापना गरेको छ । 

सो क्लिनकिको एक कार्यक्रमबीच शुक्रबार बिहान नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरी शाक्य र विमानस्थलस्थित नागरिक उड्ड्यन कार्यालय, नागरिक उड्ड्यन प्राधिकरणका महाप्रबन्धक देवानन्दप्रसाद उपाध्यायले संयुक्त रुपमा रिवन काटी उद्घाटन गरे । 

नर्भिक इन्टरनेशनल हस्पिटले यसअघि नेपाल पर्यटन वर्षको अवसर पारेर सन् २०११ मै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा अन्तर्राष्ट्रिय हवाई यात्रुहरूको निःशुल्क आकस्मिक एवम् प्राथमिक उपचारका लागि सु–सज्जित निःशुल्क आकस्मिक चिकित्सा सेवा कक्ष सञ्चालनमा ल्याएको थियो । उक्त कक्षको सञ्चालनमा ६ वर्षभन्दा बढी समयको अनुभव बटुलेको नर्भिकले हाल आन्तरिक हवाई यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै आन्तरिक टर्मिनल भवनमा समेत त्यसखाले सुविधा दिन लागेको हो । 

सो निःशुल्क आकस्मिक क्लिनिक मार्फत् नर्भिकले आन्तरिक हवाइयात्रीहरूमा आइपनसक्ने कुनै पनि आकस्मिक चिकित्सा आवश्यकतालाई परिपूर्ति गर्ने लक्ष्य लिएको छ । 

सो निःशुल्क आकस्मिक चिकित्सा कक्षबाट यात्रुहरूले बिहानदेखि साँझसम्म ड्यूूटीमा रहने चिकित्सक, नर्सिङ्ग स्टाफ र प्यारामेडिकको सेवा प्राप्त गर्नुका साथै सबैखाले प्राथमिक उपचार प्राप्त गर्नेछन् । साथमा क्लिनिकले निबुलाइजेसन, इ.सी.जी. सेवा, रक्तचाप मापनयन्त्र, जीवनदायी सङ्केतहरूको मापन र परीक्षण, चिकित्सकीय जाँच र परामर्श, रक्त सुगरको परीक्षण, प्राणवायुको मात्रा/संतृप्ति(Oxygen Saturation), ट्रली शय्या र आवश्यक पर्दा वा आकस्मिक अवस्थामा भेन्टिलेटरको सेवा/सुविधा समेत प्राप्त गर्नेछन् । 

माथि उल्लेख गरिएका सेवाका अतिरिक्त सो क्लिनिक नजिकै सुसज्जित मोवाइल सी.सी.यु. (अति विशिष्ट एम्बुलेन्स) को सेवा उपलब्ध हुनेछ । सो एम्बुलेन्समा जीवनरक्षाका सबै अत्यावश्यकीय उपकरणहरू जस्तैः पोर्टेबल भेन्टिलेटर, डेफिव्रिलेटर, सक्सन मेसिन, मनिटर, अक्सिजन, इ.सी.जी. मेसिन, जीवनदायी सबै औषधिहरू र चिकित्सकको सेवा उपलब्ध हुने अस्पतालले जनाएको छ । अत्याधुनिक सुविधासम्पन्न सो मोवाइल सी.सी.यु. (अत्याधुनिक एम्बुलेन्स) बिहानेदेखि साँझसम्म उपलब्ध हुने बताइएको छ ।