काठमाण्डौ । लामो समयदेखि लागूऔषध तस्करीको ट्रान्जिटको रुपमा नेपालको त्रिभुवन विमानस्थल बदनाम छ । पछिल्लो समय एयरपोर्टकै चोर बाटोहरुको प्रयोग गरी तथा प्रहरीको समेत मिलेमतोमा किलोका किलो सुन समेत त्यहीँ प्वाइन्टबाट तस्करी हुने गरेका थुप्रै तथ्यहरु समेत बाहिर आएका छन् । अन्तर्राष्ट्रिय रुपमै यस्ता तस्करी प्रकरणहरुले बदनाम देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ खटिएका कतिपय प्रहरीहरुको छुद्र व्यवहारका कारण सर्वसाधारण यात्रुहरुले अनाहकमा दुःख पाउनुपर्ने अवस्था समेत रहेको छ । 

विमानस्थलबाट हुने तस्करीका कतिपय घटनाहरुमा देखेको नदेखे झै गर्ने नेपाल प्रहरी सोझा र सर्वसाधारण यात्रुमाथि भने हदैसम्म तल गिरेर दुव्र्यवहार गर्न समेत पछि पर्दैन भन्ने उदाहरण साउन २७ गते राति देखिएको छ । 

एक भुक्तभोगी यात्रुका अनुसार सो दिन एयरपोर्टमा खटिएका प्रहरी जेएन साहले दर्जनौ यात्रुहरुलाई सामूहि दुव्र्यवहार मात्र गरेनन् अपराधीलाई जस्तो ठेल्न तथा हात लगाउन समेत पछि परेनन् । 

घटना साउन २७ गते राति ९ बजेको हो । प्रत्यक्षदर्शीका अनुसार सो बेला एयरपोर्टमा अविरल बर्षा भइरहेको थियो । यात्रुहरु अन्तराष्ट्रियतर्फको टर्मिनल बिल्डिङबाट बाहिर निस्केर गाडीमा हतारिएर बस्ने प्रयास गर्दै थिए । तर त्यहाँ खटिएका प्रहरी जेएन साहले भने यात्रुहरुलाई गाडीमा बस्नै नदिई यहाँबाट जा भन्दै धकेल्दै दुव्र्यवहार गरेका थिए । यस्तो दुव्र्यवहार दर्जनौ यात्रुमाथि भएको भुक्तभोगीहरु बताउँछन् ।  

‘यात्रुको चाप बढेको बेला प्रहरीलाई व्यवस्थापन तनावपूर्ण हुन सक्छ, तर त्यसकै कारण आम नागरिकलाई दुव्र्यवहार गर्नु अशोभनीय र असभ्य काम भयो ।’ दुव्र्यवहार खेपेका एक यात्रीले बिजशालासँग भने–‘त्यसै पनि बदनाम नेपाल प्रहरीका यस्ता केही कर्मचारीका कारण संगठन नै बदनाम हुने अवस्था आउँछ, यो बिषयमा जिम्मेवार अधिकारीहरु संवेदनशील बन्नुपर्छ ।’

प्रहरी जेएन साहले यात्रुहरुलाई सामूहिक दुव्र्यवहार गरेपछि प्रहरीको कार्यशैलीप्रति अधिकांशले आपत्ति जनाएका थिए । प्रहरीको त्यो शैलीबाट महिलाहरु बढी समस्यामा परेका थिए । प्रहरी साह भने हिंस्रक शैलीमा यात्रुहरुलाई ठेलिरहेका देखिन्थे । 

'विमानस्थलमा नेपाल प्रहरीको यस्तो व्यवहार ठीक भएन ।' अर्का एक यात्रुले भने-'दर्जनौ यात्रुहरुमाथि दैनिकजसो प्रहरीहरुले दुव्र्यवहार र हप्काईदप्काई गर्छन । प्रहरीका उच्च अधिकारीहरुले यो बिषयमा ध्यान दिनुपर्छ ।'

एयरपोर्टमा निहत्था यात्रुहरुमाथि भएको दुव्र्यवहारको बिषयमा हामीले एयरपोर्टका प्रहरी प्रमुख डीआइजी कमलबहादुर खत्रीलाई सोधेका थियौ । उनले आफूलाई घटनाको बिषयमा थाहा नभएको जानकारी दिंदै यात्रुहरुमाथि भएको दुव्र्यवहारको बिषयमा छानबिन गर्ने वचन दिए । ‘यात्रुहरुमाथि त्यसरी दुव्र्यवहार भएको हो भने त्यस्तो काम गर्ने प्रहरीमाथि कारबाही गर्छौ ।’–उनले बिजशालासँग भने । 

अर्को एक प्रहरी स्रोतका अनुसार एयरपोर्ट सुरक्षाका लागि एकसाताअघि मात्रै ७० जना नयाँ प्रहरीलाई सरुवा गरी ल्याइएको छ । तिनैमध्येकाबाट यसरी यात्रुमाथि अभद्र व्यवहार भएको हुनसक्ने स्रोत बताउँछ ।