काठमाण्डौ । ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाले चैत ७(आज) निश्कासन खुल्ला गरेको आइपीओमा पहिलो आवेदकको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले दरखास्त दिंदैछन् । 

प्रम ओलीले आफ्नो पूर्व घोषणा अनुसार जनताको जलविद्युत कार्यक्रमअन्तर्गतको पहिलो आयोजनाको पहिलो सेयर किन्नका लागि दरखास्त दिने भएका हुन् । 

नेपालमा सेयर भर्दा डिम्याट खाता अनिवार्य भएकोले ओलीले सेयरको निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलमा डिम्याट खाता खोलिसकेका छन् । उनले नेपाल डिपी लिमीटेडमा समेत अर्को डिम्याट खाता खोलेका छन् । 

डिम्याट खाता खोलिसकेपछि अब उनले त्रिशुली जलविद्युत कम्पनीबाट संचालित सो आयोजनाको कति कित्ता सेयर किन्छन् भन्ने आम चासोको विषय बनेको छ । 

प्रधानमन्त्रीको प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार बुधबारसम्म प्रमले कति कित्ता सेयर खरीदका लागि आवेदन दिने भन्ने बिषय टुंगिसकेको छैन । उनका अनुसार बिहीबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासबाटै मेरो सेयरको प्रयोग गरी प्रम ओलीले सेयर खरीदका लागि अनलाइन आवेदन(आस्वाबाट) दिनेछन् ।

एक सामान्य कार्यक्रमका बीच बालुवाटारस्थित निवासबाटै प्रम ओलीले सेयर खरीदका लागि आवेदन दिने र उनीपछि उर्जामन्त्री वर्षमान पुन तथा केही हाइप्रोफाइलहरुले समेत सोही ठाउँबाट सेयर खरीदका लागि आवेदन दिने कार्यक्रम तय भएको छ । 

प्रधानमन्त्री निकट अर्को एक उच्च स्रोतका अनुसार प्रधानमन्त्रीले यो कम्पनीको खरीद गर्न मिल्ने अधिकतम कित्ताका लागि आवेदन दिन चाहेका छन् । 
न्यूनतम १०० कित्तादेखि अधिकतम १०००० दश हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । 

यो कम्पनीको आइपीओ खरीदका लागि अहिले १०० रुपैयाँ प्रतिसेयरलाई रु. १० रुपैयाँको दरले मात्र भुक्तानी(बैना) गरे पुग्ने भएकोले अधिकतम सेयरका लागि प्रधानमन्त्रीले रु. १ लाख रुपैयाँ ठीक गरे पुग्छ । 

स्रोतका अनुसार उर्जामन्त्रीले समेत अधिकतम कित्तासम्मैका लागि आवेदन दिने तयारी गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि आफ्नो नाममा कहिल्यै पनि कुनै पनि कम्पनीको सेयर किनेका थिएनन् । अनलाइनबाट सेयरको आवेदन दिन मिल्ने गरी सर्वसाधारणमा लोकप्रिय बनेको मेरो सेयरमार्फत आइपीओका लागि आवेदन दिने आधुनिक प्रविधिको उनले पहिलोपटक नै प्रयोग गर्दैछन् । प्रधानमन्त्री ओलीले सेयर खरीदका लागि चाहिने डिम्याट खाता समेत पहिलोपटक खोलेका हुन् । उनको डिम्याट खाता खुलाउन ग्लोबल आइएमई क्यापिटलका अधिकारी बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमै पुगेका थिए ।