काठमाण्डौ । ‘जनताको जलविद्युत कार्यक्रम’अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सेयर खरीदका लागि आवेदन दिएका त्रिशुली जलविद्युत कम्पनी लिमीटेडको सेयरमा लगानीकर्ताको अचाक्ली आवेदन परेको छ । 

यो कम्पनीले बिहीबारदेखि निश्कासन गरेको ३७ लाख ५ हजार कित्ता आइपीओमा आइतबार साँझ ५ः३० बजेसम्म ३ करोड ७३ लाख १९ हजार ७२० कित्ता खरीदका लागि आवेदन परेको हो। 

सेयरको निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार देशभरबाट ८३ हजार ५८३ आवेदकले ३७ करोड ३१ लाख ९७ हजार २०० रुपैयाँ बराबरको आवेदन दिएका हुन् । 

यो कम्पनीले कुल निश्कासित ३७ लाख ५ हजार कित्तामध्ये ३ प्रतिशतले हुन आउने १ लाख ११ हजार १५० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याएको छ । र, बाँकी रहेको ३५ लाख ९३ हजार ८५० कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । यसरी हेर्दा आइतबार साँझ ५ः३० बजेसम्म मागको तुलनामा १०.३८ गुणा बढी आवेदन परेको देखिन्छ । 

इच्छुक लगानीकर्ताले छिटोमा चैत ११ भित्र आवेदन दिइसक्नुपर्नेछ । 

हाललाई दरखास्तका साथ प्रतिसेयर रु. १० को दरले(अंकित मूल्यको दश प्रतिशत)ले हुने रकम भुक्तानीका लागि अग्रिम माग गरिएको छ । यसको अर्थ प्रतिसेयरका लागि रु. १० रुपैयाँ बैना गरी प्रतिकित्ता १०० रुपैयाँको सेयर बुक गर्न सकिन्छ । 

ती सेयर बापत चुक्ता हुन बाँकी रकम आयोजनाको निर्माण कार्य ५० प्रतिशत पूरा भएपछि माग गरिनेछ ।

इच्छुकले न्यूनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । यसको अर्थ साथमा रु। एकहजार रुपैयाँ हुनेले समेत १०० कित्ता सेयरका लागि बैना गर्न सक्नेछन् । 

यो कम्पनीको आइपीओमा प्रधानमन्त्री ओलीले १० हजार कित्ता, उनकी पत्नी राधिका शाक्यले १० हजार कित्ता, उर्जामन्त्री वर्षमान पुनले १ हजार कित्ता, उनकी पत्नी ओनसरी घर्तिले २ हजार कित्ता खरीदका लागि आवेदन दिएका थिए । 

यो कम्पनीले नुवाकोट तथा रसुवा जिल्लामा रहेको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्रि वि हाइड्रो प्रोजेक्ट निर्माण गरिरहेको छ।