काठमाण्डौ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गतको पहिलो आयोजनाको सेयर किन्नका लागि १८ गुणाको हाराहारीमा आवेदन परेको छ। 

यसअघि रद्ध भएका आवेदनसहित १९ वटाको हाराहारीमा आवेदन परेको भनिए पनि त्यसलाई घटाएर रद्ध नभएका आवेदनका आधारमा १८ गुणा हाराहारीमा सेयरको माग भएको हो । 

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार त्रिशूली जलविद्युत् कम्पनीको शेयरमा रु ६४ करोड ५५ लाख २९ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । यो भनेको ६ करोड ४५ लाख ५२ हजार ९०० कित्ता सेयर माग भएको भन्ने हो । 

शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालका अनुसार भेरिफाइड आवेदनका आधारमा फाइनल डेटा निकालिएको हो । 

कूल एकलाख ५४ हजार ६२४ आवेदकले रु. १० बैना गरी सेयर खरीदका लागि आवेदन दिएका छन् ।

फाइनल डेटाका आधारमा हेर्दा कम्पनीको आइपीओ आवेदन दिनेले न्यूनतम २३ कित्ताको दरले सेयर पाउनेछन् ।  

यो कम्पनीले चैत ७ देखि ११ गतेसम्म कुल निश्कासित ३७ लाख ५ हजार कित्तामध्ये ३ प्रतिशतले हुन आउने १ लाख ११ हजार १५० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याएको छ । र, बाँकी रहेको ३५ लाख ९३ हजार ८५० कित्ता सर्वसाधारणका लागि सुरक्षित गरेको थियो ।

हाललाई दरखास्तका साथ प्रतिसेयर रु.१० को दरले (अंकित मूल्यको दश प्रतिशत)ले हुने रकम भुक्तानीका लागि अग्रिम माग गरिएको छ । यसको अर्थ प्रतिसेयरका लागि रु. १० रुपैयाँ बैना गरी प्रतिकित्ता १०० रुपैयाँको सेयर बुक गर्न सकिन्छ । 

ती सेयर बापत चुक्ता हुन बाँकी रकम आयोजनाको निर्माण कार्य ५० प्रतिशत पूरा भएपछि माग गरिनेछ ।

इच्छुकले न्यूनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । यसको अर्थ साथमा रु। एकहजार रुपैयाँ हुनेले समेत १०० कित्ता सेयरका लागि बैना गर्न सक्नेछन् । 

यो कम्पनीको आइपीओमा प्रधानमन्त्री ओलीले १० हजार कित्ता, उनकी पत्नी राधिका शाक्यले १० हजार कित्ता, उर्जामन्त्री वर्षमान पुनले १ हजार कित्ता, उनकी पत्नी ओनसरी घर्तिले २ हजार कित्ता खरीदका लागि आवेदन दिएका थिए । 

यो कम्पनीले नुवाकोट तथा रसुवा जिल्लामा रहेको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्रि वि हाइड्रो प्रोजेक्ट निर्माण गरिरहेको छ।