काठमाण्डौ । प्रधानमन्त्री केपी शर्माको ओली कति भाग्यमानी छन् ? देशकै कार्यकारी पद सम्हाल्ने अवसर पाएको व्यक्तिलाई अभागी भन्न मिल्दै मिलेन । तर, उनको भाग्यको मिनी परीक्षा बिहीबार हुँदैछ । अर्थात, उनले जीवनमा पहिलोपटक भरेको सेयरमा अधिकतम कित्ता खरीदका लागि आवेदन दिएका भए पनि अधिकतम कित्ता सेयर पाउनका लागि उनले समेत चिठ्ठा कार्यक्रममै सहभागी हुनुपर्ने भएको छ । 

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गतको पहिलो आयोजना त्रिशुली जलविद्युत कम्पनी लिमीटेडको आइपीओ बाँडफाँड बिहीबार दिउँसो हुँदैछ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलकाअनुसार त्रिशुली जलविद्युतको आइपीओ बाँडफाँड बिहीबार दिउँसो १ बजे उर्जामन्त्री वर्षमान पुनको प्रमुख आतिथ्यतामा सिंहदरबारस्थित उर्जामन्त्रालयको सभाहलमा एक समारोहका बीच आइपीओको बाँडफाँड गरिनेछ । 

यो कम्पनीले निश्कासन गरेको सेयर किन्नका लागि १८ गुणाको हाराहारीमा आवेदन परेको छ। यसकारण समेत सबैले मागेजति सेयर पाउँदैनन् । प्रधानमन्त्रीले समेत अधिकतम १० हजार कित्ता खरीदका लागि आवेदन दिएका छन् । उनको भागमा २० कित्ता निश्चित देखिए पनि बाँकी १० कित्ता पाउनका लागि भने उनलाई लोटरी नै पर्नुपर्छ । 

'हामीले सेयर बाँडफाँडमा सबैलाई एउटै नियम लगाएका छौ ।' क्यापिटल स्रोतले भन्यो-'सबै आवेदकले २० कित्ता न्यूनतम पाउँछन् । त्यसपछिको १० कित्ताका लागि भने लोटरी हुनेछ, प्रधानमन्त्री, उहाँकी पत्नी, उर्जामन्त्री, उहाँकी पत्नी लगायतका भीभीआइपीहरुले पनि चिठ्ठाकै माध्यमबाट मात्र थप १० कित्ता पाउन सक्नुहुन्छ ।' 

प्रधानमन्त्री ओलीले जीवनमै पहिलोपटक सेयर खरीदका लागि आवेदन दिएका कारण समेत यो कम्पनीको आइपीओ अलटमेन्ट चाखलाग्दो बन्न सक्छ । 

कम्पनीको शेयरमा रु ६४ करोड ५५ लाख २९ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । यो भनेको ६ करोड ४५ लाख ५२ हजार ९०० कित्ता सेयर माग भएको भन्ने हो । 

कूल एकलाख ५४ हजार ६२४ आवेदकले रु. १० बैना गरी सेयर खरीदका लागि आवेदन दिएका छन् ।

यो कम्पनीले चैत ७ देखि ११ गतेसम्म कुल निश्कासित ३७ लाख ५ हजार कित्तामध्ये ३ प्रतिशतले हुन आउने १ लाख ११ हजार १५० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याएको छ । र, बाँकी रहेको ३५ लाख ९३ हजार ८५० कित्ता सर्वसाधारणका लागि सुरक्षित गरेको थियो ।

इच्छुकले न्यूनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको थियो । 

यो कम्पनीको आइपीओमा प्रधानमन्त्री ओलीले १० हजार कित्ता, उनकी पत्नी राधिका शाक्यले १० हजार कित्ता, उर्जामन्त्री वर्षमान पुनले १ हजार कित्ता, उनकी पत्नी ओनसरी घर्तिले २ हजार कित्ता खरीदका लागि आवेदन दिएका थिए । 

यो कम्पनीले नुवाकोट तथा रसुवा जिल्लामा रहेको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्रि वि हाइड्रो प्रोजेक्ट निर्माण गरिरहेको छ।