काठमाण्डौ । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत छनौट भएका १९ मध्ये सर्वसाधारणमा सेयर जारी गर्ने पहिलो कम्पनी हो त्रिशुली जलविद्युत कम्पनी । यो आयोजनाले निश्कासन गरेको आइपीओमा पहिलो आवेदकको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले आवेदन दिएका थिए । निकै रफ्तारमा अगाडि बढाइएको यो आयोजनाको आइपीओ बाँडफाँड समेत आवेदन लिन बन्द भएको २ दिनमै गरियो । 

रु. १० बैना गरेर प्रतिकित्ता १०० रुपैयाँ दरका सेयर किन्ने सर्वसाधारणको घुँइचो नै लाग्यो । यहीकारण कम्पनीको आइपीओ १८ गुणा बढी आवेदन परेको थियो । 

सेयरको निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले बिहीबार एक समारोहका बीच उर्जामन्त्रालयको सभाहलबाट आइपीओ बाँडफाँड गर्यो, जसमा प्रत्येक आवेदकले न्यूनतम २० कित्ताको दरले सेयर पाए । 

न्यूनतम २० कित्ताको दरले सबैलाई बाँडिएको सेयरमा थप १० कित्ता पाउनलाई भने गोलाप्रथाको सहारा लिइएको थियो । 

करिब एक तिहाई लगानीकर्ताले २० बाहेक थप १० कित्ताको दरले सेयर पाएका थिए । गोलप्रथामा प्रधानमन्त्री ओली भाग्यमानी देखिएनन् । उनले २० कित्तामै चित्त बुझाउनुपर्यो । 

प्रम ओली मात्र होइन, उनकी धर्मपत्नी राधिका शाक्यले पनि २० कित्ता मात्र सेयर पाइन् । प्रम ओली र उनकी धर्मपत्नीले कम्पनीको अधिकतम भर्न पाउने १० हजार कित्ता खरीदका लागि आवेदन दिएका थिए । 

उनीहरुसँगै उर्जामन्त्री वर्षमान पुन र उनकी पत्नी तथा पूर्व संविधानसभा अध्यक्ष ओनसरी घर्ति समेत भाग्यमानी ठहरिएनन् । एकहजार कित्ताका लागि आवेदन दिएका मन्त्री पुन र २ हजार कित्ताका लागि आवेदन दिएकी घर्ति, दुवैले २० कित्ताको दरले सेयर पाएका निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमीटेडले जनाएको छ । 

आईपिओमा आवेदन गरेका ५० हजार २६७ जनाले थप १० कित्तासहित ३० कित्ताको दरले सेयर पाए । बाँकी आवेदकलाई २० कित्ताका दरले बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । 

आईपिओमा परेका आवेदनमध्ये कुल एक लाख ५४ हजार ५५९ वटा सदर भउको थियो । जसअनुसार एकलाख चारहजार २९२ जना आवेदकले २० कित्ताको दरले सेयर पाएका हुन् ।

सेयर खरीदका लागि परेकामध्ये ६७ वटा आवेदन रद्ध भएका थिए । 

यो कम्पनीले चैत ७ देखि ११ गतेसम्म कुल निश्कासित ३७ लाख ५ हजार कित्तामध्ये ३ प्रतिशतले हुन आउने १ लाख ११ हजार १५० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याएको थियो । र, बाँकी रहेको ३५ लाख ९३ हजार ८५० कित्ता सर्वसाधारणका लागि सुरक्षित गरेको थियो ।

इच्छुकले न्यूनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको थियो । 

यो कम्पनीले नुवाकोट तथा रसुवा जिल्लामा रहेको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्रि वि हाइड्रो प्रोजेक्ट निर्माण गरिरहेको छ।