काठमाण्डौ । प्रदेश ५ मा पर्ने रुकुमपूर्व जिल्लामा समेत कोरोना संक्रमित फेला परेका छन् । 

बुधबार रुकुमपूर्वसहित देशका विभिन्न क्षेत्रमा एकैपटक ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो दैनिक रुपमा पहिचान हुने संक्रमितहरुको हालसम्मकै सर्वाधिक संख्या हो । यसले नेपालमा समेत कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएको देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न क्षेत्रमा ११४ जना संक्रमित थपिएर कुल संक्रमितको संख्या ८८६ जना पुगेको छ । यीमध्ये ९० महिला छन् भने बाँकी सबै पुरुष छन् । 

भारतबाट स्वदेश फर्किनेहरुको संख्यामा बढोत्तरी भएसँगै संक्रमितहरुको संख्या समेत बढ्न थालेको हो । बुधबार पहिचान भएका सबै ११४ संक्रमित भारतबाट आएर विभिन्न क्षेत्रका क्वारेन्टाइनमा बसेका व्यक्तिहरु हुन् । यसले समेत भारतबाट कोरोना कुन गतिमा भित्रिरहेको छ भन्ने देखिन्छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणको क्रममा ११ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । उनीहरु ८ जना सप्तरीको बोदेबर्साइन नगरपालिकाका पुरुष हुन् । सप्तरीको बालनविपुल गापाका महिला र पुरुष गरी २ जना, सुरुङ्गा नगरपालिकाका एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै, विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परीक्षणमा १७ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु झापाको गौरादह नपाका २ पुरुष, झापाको कचनकवल नपाका १५ पुरुष छन् । 

हेटौडाको किटजन्य प्रयोगशालामा गरिएको परीक्षणमा ८  कोरोना संक्रमित पहिचान भएका छन् । तीमध्ये कवानपुरका १ महिला, रौतहट गडीमाई नपाका ७ पुरुष रहेका छन् । 

पोखराको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बाग्लुङका ६ पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । 

दाङको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १८ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुमध्ये एक महिला र २ पुरुष रुकुमपूर्व जिल्लाको उत्तरगंगा गाउँपालिकाका हुन् । 

यस्तै, दाङको घोराहीका ७ जना पुरुष तथा लमही नगरपालिकाका ७ पुरुष र एक महिलामा समेत कोरोना पुष्टि भएको छ । 

भेरी अस्पतालमा गरिएको परीक्षणमा १६ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुमध्ये बाँकेको डुडुवा गापाका २ पुरुष, राप्तिसोनारीका ७ पुरुष, वैजनाथ गापाका ६ जना पुरुष र खजुरा गापाका एक पुरुष रहेका छन् । 

त्यसैगरी, काठमाण्डौस्थित राष्ट्रिय जनसस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सिरहा सिद्धिचरणका १ जना, सिरहा स्थायी ठेगाना भई सप्तरीको रुपनी बस्ने एक पुरुष, बाराको रचौता नपाका ६ पुरुष र एक महिला तथा हाल रौतहटमा रहेका बाराको रचौताकै अर्का एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

रौतहटको गौरका ७ पुरुष र एक महिला गरी ८ जना, रौतहटकै देवाही गुनाही नपाका २ पुरुष, कटरिया नपाका २ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यो जिल्लाको श्री जनता सेकेण्डरी स्कूलमा बनाइएको क्वारेन्टाइनमा गरिएको परीक्षणमा १४ जनामा कोरोना पोजिटिभ फेला परेको छ । रौतहटकै एक मदर्साका २ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।  

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार हालसम्म प्रदेश १ का ७ जिल्लामा १०३ संक्रमित फेला परेका छन् भने प्रदेश २ का ८ जिल्लामा ३२४ जना, बागमति प्रदेशका ११ जिल्लामा ३९, गण्डकी प्रदेशका ४ जिल्लामा १३ जना, प्रदेश ५ का ९ जिल्लामा ३६५ जना, कर्णालीका ३ जिल्लामा २५ जना र सुदरपश्चिम प्रदेशका ५ जिल्लामा १७ जना कोरोना संक्रमित फेला परिसकेका छन् ।