काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले अनलाइन युजर आईडी र पासवर्ड लगानीकर्तालाई थप केही समयका लागि निःशुल्क दिने भएको छ।

यसअघि नेप्सेले असार महिनाभित्र अनलाइन कारोबार प्रणालीमा आवद्ध हुने लगानीकर्तालाई असार महिनाभित्र निःशुल्क अनलाइन युजर बाँड्ने जनाएको थियो। यसपछि भने केही निश्चित शुल्क लिइने योजना नेप्सेले बनाएको थियो। 

आफूहरुले अनलाइन कारोबार प्रणालीमा लगानीकर्ता थप जोडिन प्रोत्साहन गर्नका निम्ति केही समय अझै निःशुल्क नै अनलाइन युजर वितरण गरिने नेप्सेका सीईओ चन्द्रसिंह साउदले बताए। उनले भने, ‘कालान्तरमा सरोकारवाला पक्षसँग छलफल गरेर नै अनलाइन युजरको निश्चित शुल्क लिइने योजना छ।’ 

नेप्से हिजो सोमबार जारी गरेको सूचनाअनुसार दोस्रो बजारमा सेयर खरिदबिक्री गर्न ३३ हजार ४२९ जना लगानीकर्ताले अनलाइन युजर र पासवर्ड लिइसकेका छन् ।