काठमाण्डौ । धितोपत्र बोर्डले दुईवटा म्युचुअल फण्डलाई इकाई बिक्री गर्ने अनुमति प्रदान गरेको छ । 

बोर्डले एनआइसी एशिया क्यापिटल लिमीटेडको प्रवद्र्धन रहने गरी १ अर्ब २५ करोड रुपैयाँ बराबरको 'एनआइसी एशिया ब्यालेन्स फण्ड' तथा सिद्धार्थ क्यापिटल लिमीटेडको प्रवद्र्धन रहने गरी १ अर्ब ४० करोड रुपैयाँ बराबरको 'सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २' लाई इकाई निश्कासनको अनुमति दिएको हो । 

'एनआइसी एशिया ब्यालेन्स फण्ड'ले १० रुपैयाँ अंकित दरका कुल १२ करोड ५० लाख तथा 'सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२' ले १० रुपैयाँ अंकित दरका १४ करोड इकाई निश्कासन गर्नेछ । 

चालु आर्थिक वर्षमा धितोपत्र बोर्डले ६ अर्ब ५५ करोड रुपैयाँ बराबरका ६ वटा म्युचुअल फण्डहरुलाई इकाई बिक्रीको अनुमति दिएको छ । यसमध्ये ५ वटा बन्दमुखी म्युचुअल फण्ड हुन् भने एउटा खुल्लामुखी म्युचुअल फण्ड हो । 

दोश्रो बजारको विषयमा ज्ञान नहुने वा दोश्रो बजारको जोखिम लिन नचाहने लगानीकर्ताहरुका लागि म्युचुअल फण्डका स्किममा लगानी सुरक्षित मानिन्छ । यस्ता स्किमहरुले सर्वसाधारणबाट रकम उठाएर दोश्रो बजारमा लगानी गर्नेछन् । 

बजारको विषयमा जानकारी राख्ने विज्ञहरुको टिम समेत यस्ता फण्डहरुको प्रवद्र्धन गर्ने मर्चेन्ट बैंकहरुमा रहेका कारण सूचिकृत कम्पनीको वित्तीय अवस्था विश्लेषण गरेर मात्रै लगानी गर्ने गर्छन् । जसका कारण यस्ता फण्डमार्फत गरिएको लगानी डूब्ने संभावना कम हुन्छ । 

हाल नेपालमा १५ वटा म्युचुअल फण्ड संचालनमा छन् । 

पछिल्लो समय इकाई निश्कासनको अनुमति पाएका दुवै मर्चेन्ट बैंकहरुसँग यसअघिदेखि नै यस्ता फण्ड संचालनको अनुभव छ । 

दोश्रो बजारमा लगानीमा केन्द्रीत हुने यस्ता फण्डहरुको प्रदर्शन बजार घटेको बेला राम्रो हुँदैन ।