काठमाण्डौ । बजार घटेर बर्षकै न्यून विन्दूमा झरेको बेला सस्तो दरमा राम्रा कम्पनीको सेयर खरीद गर्नेहरु सलबलाएका कारण मंगलबार बजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ४.८९ अंकले बढी १२८१.९० विन्दू कायम भएको छ । 

बजार घटेर चौपट भएको बेला धेरै कम्पनीको सेयर निकै न्यून विन्दूमा झरेको छ। राम्रा कम्पनीको सेयर समेत करिब आइपीओकै मूल्यमा पाउन थालिएपछि सेयर खरिदारीको सुनौलो अवसरको सदुपयोग गर्दै लगानीकर्ताहरु केही सलबलाएका छन् । 

मंगलबार केही खरीद चाप परेकै कारण बजार परिसूचकमा झिनो बढोत्तरी देखिएको विश्लेषकहरुले बताएका छन् । बजारमा सामान्य बढोत्तरी भए पनि कारोबार रकम न्यून रहेकोले बजार आगामी दिनमा निरन्तर बढ्नेछ भन्ने अवस्था नरहेको बजारका जानकार बताउँछन् । 

कतिपयले लगानीकर्तासँग सम्बद्ध संघसंस्थाको भूमिकाले समेत बजारको पहिरो केही थामिएको दाबी गरिरहेका छन् । सोमबार नेपाल इन्भेष्टर्स फोरमले अर्थमन्त्रीलाई बजारको विकास र विस्तारसँग सम्बन्धित १६ बुँदे मागसहितको ज्ञापनपत्र बुुझाएको थियो । सो क्रममा उसले आम लगानीकर्तालाई बजारको भविष्य सुनौलो रहेको उल्लेख गर्दै हल्लाको पछि नदौडन आग्रह समेत गरेको थियो । 

अर्कोतर्फ, ब्याजदरको बिषयमा एनआइसी एशिया बैंक र नेपाल बैंकर्स संघबीचको विवादले उत्पन्न अन्यौल समेत सकिएको छ । एनआइसीले ब्याजदर वृद्धिको निर्णय फिर्ता लिएपछि र एनबिएसँगको विवाद साम्य भएपछि यसले समेत बजारमा केही सकारात्मक प्रभाव पारेको हो कि भन्नेहरु पनि देखिएका छन् । 

मंगलबार लगानीकर्ताहरुले ‘क’ वर्गका कम्पनीको सेयर खरिदमा मन लगाएका कारण सेन्सेटिभ इण्डेक्स १.३ अंकले बढेको छ । यस्तै समग्र कारोबार मापक फ्लोट इण्डेक्समा पनि ०.३५ अंकको बढोत्तरी भएको छ । 

यो दिन बिमा, माइक्रोफाइनान्स र उत्पादनमूलक समूहको सूचक घटेको छ । बिमा समूह १०.६८, माइक्रोफाइनान्स ४.२९ र उत्पानमूलक ३२.६५ अंकले घटे । 

बाँकी सबै समूहको सूचक बढे । बैकिंग समूह ५.७१ अंकले बढेको छ भने विकास बैंक र बित्त समूह क्रमशः १.४५ र ३.१९ अंकले बढेका छन् । यस्तै, होटल समूह ६१.५४, जलविद्युत समूह ९.३९ र अन्य समूह ७.१२ अंकले बढेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १५६ कम्पनीका ५ लाख ५५ हजार ७ सय २२ कित्ता सेयर २३ करोड ७० लाख ३० हजार ३ सय ८७ रुपैयाँमा किनबेच भएको छ । 

यो दिन नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै २ करोड २१ लाख बढीको कारोबार गर्यो । यस्तै, नवील बैंकले १ करोड ५२ लाख, युनिलिभर नेपाल लिमीटेडले १ करोड ३१ लाख, एभरेष्ट बैंकले १ करोड १३ लाख, नागरिक लगानीकोषले ७९ लाख, इन्भेष्टमेन्ट बैंकले ७८ लाख, सानिमा बैंकले ६८ लाख, राष्टिय बिमा कम्पनी लिमीटेडले ६३ लाख, हिमालयन बैंकले ५९ लाख र जनता बैंक नेपालले ५७ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ७.१४ प्रतिशतले बढ्यो । यस्तै, सोल्टी होटल लिमीटेडको सेयर मूल्य समेत ५.४९ प्रतिशतले वृद्धि भयो ।

यो दिन अरुण फाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ४.८२ प्रतिशतले घट्यो । यस्तै, एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले पनि ४.६१ प्रतिशतले सम्पत्ति गुमाए ।