काठमाण्डौ । अर्थमन्त्रालयले मुद्रा र पूँजी बजारको समस्या पहिचान गर्न डेपुटी गभर्नरको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएको खबरले लगानीकर्ताहरुमा आशाको सञ्चार भएको छ । यस्तै, बढ्दो ब्याजदरका कारण मनोबल कमजोर पारी सेयर बिक्रीमा लागेका लगानीकर्ताहरु समेत बैंकर्स संघका अध्यक्षले ब्याजदर सम्बन्धी पुरानो भद्र सहमति ब्यूँतिनसक्ने भनी दिएको अन्तर्वार्ताबाट केही आशावादी देखिएका छन् । 

यस्तै, दोश्रो बजारमा वाणिज्य बैंककै सेयर समेत सस्तोमा खरीद गर्न पाइने अवसरलाई पक्रन लगानीकर्ताले खरिदारी बढाएका छन् । अन्य समूहका सस्ता कम्पनीको सेयरमा समेत केही खरीद चाप देखिएको छ । 

लगानीकर्ता आशावादी भई बजारमा समेत खरिद गर्ने राम्रो मौका देखिएका कारण साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १०.८५ अंकले बढेर ११३१.७० को  विन्दूमा फर्किएको छ । 

यो दिन सेन्सेटिभ इण्डेक्स २.६८ अंकले बढेको छ, यसको अर्थ राम्रा कम्पनीको सेयरमा खरीद चाप देखिएको भन्ने हो । यो दिन समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.९१ अंकको बढोत्तरी भएको छ । 

यो दिन बित्त समूहको सूचकमा ०.२४ अंक तथा उत्पादनमूलक समूहको सूचकमा १०.०३ अंकको गिरावट देखियो भने बाँकी सबै समूहको सूचकमा हरियाली छायो।

बैंकिंग समूह १३.५१ अंकको वृद्धि देखिएको दिन विकास बैंक समूहमा १२.०९ अंक, होटल समूहमा ८.९५ अंक, व्यापार समूहमा २.२ अंक, जलविद्युत समूहमा ११.१ अंक, निर्जीवन बिमा समूहमा ३९.८९ अंक, जीवन बिमा समूहमा ६.६४ अंक, माइक्रोफाइनान्स समूहमा ४.९६ अंक तथा अन्य समूहमा ४.१२ अंकको बढोत्तरी भएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५५ कम्पनीका ७ लाख १४ हजार ६ सय १८ कित्ता सेयर २२ करोड ३७ लाख २४ हजार ६ सय ८७ रुपैयाँमा किनबेच भएको छ । 

नेपाल बैंकले सबैभन्दा बढी २ करोड ७७ लाख बढीको कारोबार गरेको छ भने प्रभू बैंकले १ करोड ७२ लाख, एनएमबी बैंकले १ करोड ५० लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ३६ लाख बढीको कारोबार गरे । 

एनआइसी एशियाले ८४ लाख बढीको कारोबार गरेको यो दिन छिमेक लघुवित्त विकास बैंकले ७६ लाख, चिलिमे जलविद्युत आयोजनाले पनि ७६ लाख, नेपाल एसबीआई बैंकले ६१ लाख, एनसीसी बैंकले ५५ लाख र बुटवल पावर कम्पनीले ५२ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन मिर्मिरे लघुवित्त, वरुण हाइडोपावर र एनआइसी एशिया बैंकका लगानीकर्ताले धेरै कमाए । यी तीन कम्पनीको सेयर मूल्यमा क्रमशः ५.६७, ५.६६ र ५.०४ प्रतिशतको बढोत्तरी भयो । 

यो दिन लक्ष्मी इक्वीटी फण्डको इकाई मूल्यमा सबैभन्दा बढी गिरावट भयो । यो स्किमका इकाईधनीले ७.४४ प्रतिशतले सम्पत्ति गुमाए ।