काठमाण्डौ । बैतडीका एक थुनुवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरी कार्यालय नै सिल गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय बैतडीका हिरासतमा रहेका ज्यान मुद्धाका थुनुवामा कोरोना संक्रमण पुष्टि भएको हो । 

ती व्यक्ति कर्तव्य ज्यानको अपराध गरी लामो समयदेखि फरार थिए । भारतमा लुकिछिपी बस्दै आएका ती व्यक्ति ६ चैतमा नेपाल आएका थिए । ती व्यक्तिलाई प्रहरीले बैशाख १५ गते पक्राउ गरी हिरासतमा लिएको थियो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार ती थुनुवाको सेती प्रादेशिक अस्पतालमा पिसिआर परिक्षणको क्रममा कोरोना पुष्टि भएको हो । अन्य ५ थुनुवाको समेत स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ । 

जिल्ला प्रहरी कार्यालयको हिरासतमै कोरोना संक्रमित फेला परेपछि स्थानीय प्रशासनले सिंगो प्रहरी कार्यालय नै सिल गरेको छ । ती थुनुवाको सम्पर्कमा आएकाहरुको खोजी गरी सबैलाई आइसोलेसनमा राख्ने तयारी थालिएको छ ।