काठमाण्डौ । सेयरबाट ठूलो कमाईका लागि ठूलै लगानी चाहिन्छ भन्ने हुँदैन । यदि तपाईको लगानी रणनीति सही छ भने सानो लगानीबाट समेत ठूलो कमाई संभव हुन्छ । यसका लागि सेयर सबैभन्दा सही ठाउँ हो । जहाँ नियमित रुपमा सानो–सानो रकम लगानी गर्नुभयो भने त्यसको रिटर्न राम्रो प्राप्त हुन्छ । हुन त सेयर बजारमा जोखिम पनि बढी हुन्छ, तर जोखिमसँगै कमाईको मौका समेत अधिक हुन्छ । यसकारण प्रत्येक महिना सानो–सानो लगानी गर्नुपर्छ, यसको सुरुवात १ हजार रुपैयाँबाट गर्न सकिन्छ । बजार विज्ञहरुको कुरालाई मान्ने हो भने सेयरबजारमा लगानीको आधारभूत कुरा निकै सामान्य छन् । सेयर बजारका आधारभूत कुराहरुलाई बुझ्न समय लाग्ने हो, यो बुझेपछि सानो लगानीबाट समेत तपाईंले राम्रो आम्दानी गर्न सक्नुहुन्छ ।

सेयर बजारमा प्रवेशका लागि जरुरी छैन कि तपाईंले मोटै रकम लगानी गर्नुपर्छ । भारतीय सेयर बजार विश्लेषक लोकेश उप्पलका अनुसार प्रत्येक महिना १ हजार लगानीबाट समेत तपाई आफ्नो पोर्टफोलियोको सुरुवात गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले तपशीलका कुरामा विशेष ध्यान राख्न आवश्यक हुन्छ ।

लगानीको सूत्र
-वर्षमा ४ देखि ५ पटकसम्म गिरावट आएको समयमा बजारमा खरीदारी गर्नुहोस् ।
-सानो सेयर खरीद गर्नुहोस् वा ठूलो कम्पनीको, तर प्रत्येक महिना सेयरमा केही न केही लगानी गर्नुहोस् ।
-बिस्तारै आफ्नो पोर्टफोलियोलाई बढाउनुहोस् र सेयरमा लगानी गर्नुहोस् ।
-रुटीन इन्भेष्टमेन्टबाट राम्रो कमाई हुनसक्छ । रुटीन इन्भेष्टमेन्टबाट तपाईलाई ५० देखि १ सय प्रतिशतसम्मको रिटर्न प्राप्त गर्न सक्नुहुन्छ । तसर्थ, यतातर्फ ध्यान दिनुहोस् ।

सस्तो सेयरमा रुटीन इन्भेष्टमेन्ट
नेपाली सेयर बजारमा सानो रकमको(सस्तो) सेयरको संख्या निकै धेरै छ । यस्ता सेयरमा आफ्नो फोकस बनाउनुहोस् र आफ्नो बजेटको हिसाबले लगानी गर्नुहोस् । तपाईंले सेयर खरीद गरेपछि लामो समय राख्नुहोस्, अत्तालिएर बजार घटेको बेला बेच्ने हतारो नगर्नुहोस् । सेयरको छनौट गर्नुअघि पूरा रिसर्च गर्नुहोस्, कम्पनीको सबै अवस्था अध्ययन गर्नुहोस् । भरपर्दो ब्रोकरेज हाउसको सल्लाह समेत सेयर खरीदको क्रममा तपाईलाई काम लाग्न सक्छ ।

सस्तो सेयरमा लगानी, ठूलो फाइदा
सस्तो सेयरमा लगानीको रणनीति धेरै हदसम्म म्यूचिअल फण्डको अवधारणासँग मेल खान्छ । महिनाको एकपटक  खरीद गर्दा तपाईंलाई प्रत्येक दिन बजार हेरिरहनुपर्ने, दौडिरहनुपर्ने आवश्यकता समेत पर्दैन । यसका साथै प्रत्येक महिनाको लगानी रकम यति धेरै कम हुन्छ कि तपाईंको पैसा वा लगानी डूब्ने वा तपाई टाट पल्टने डर पनि हुँदैन । तपाईं राम्रो सेयर खरीद गरिरहनुभएको छ भने यस्तो सेयरमा पैसा डूब्ने संभावना ज्यादै न्यून हुन्छ । सानो सेयर खरीदका लागि कम बजेट आवश्यक पर्ने भएकोले तपाईंले आफूले गरेको बचत वा कुनै फण्ड मास्नुपर्ने आवश्यकता पनि पर्दैन । यस्तो अवस्थामा तपाईंले बजारमा आफ्नो लगानीको पूरा फाइदा उठाउन सक्नुहुन्छ ।

लामो अवधिको लगानीमा लगानीकर्तालाई राम्रो फाइदा मिल्छ । यस्तो अवस्थामा सेयरको मूल्य बढ्दा लगानीकर्तालाई स्वभाविक रुपमा फाइदा त प्राप्त हुन्छ नै, यस बाहेक नगद लाभांश, बोनस सेयर, हकप्रद सेयर जस्ता अवसरहरु पनि पाउन सकिन्छ । साथै लामो समयको लगानीमा कर छुटको फाइदा समेत प्राप्त हुन्छ ।

तर, जोखिमको पहिचान गर्न नभूल्नुहोस्......
नेपाली सेयर बजार विज्ञका अनुसार सेयर कतिपय अवस्थामा एउटै स्तरमा निकै लामो समयसम्म रहनसक्छ । यस्तो अवस्थामा तपाईमा धैर्य भएन भने तपाई पूरा फाइदा लिनबाट चुक्नुहुनेछ । तपाईं यस्तो खालको लगानी आफ्ना बालबच्चा वा लामो समयको लक्ष्यका लागि गर्न सक्नुहुन्छ । त्यसकारण प्रयास जारी राख्नुहोस् कि यस्ता साना सेयरमा नियमित लगानीको अवसर प्राप्त गर्न । किनकि सानो सेयरमा सानै लगानी गर्दा कुनै बेला मूल्य घटे पनि तपाईलाई न्यून मात्र घाटा हुन्छ ।