काठमाण्डौ । योग गुरु बाबा रामदेवको पतञ्जली आयुर्वेद भारतकै सबैभन्दा अग्रस्थानमा रहेको दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने कम्पनी हो । यो कम्पनीले नेपाली बजारमा समेत उस्तै छाप छाडेको छ । भारत लगायतका मुलुकमा पतञ्जलीले बहुराष्ट्रिय कम्पनीलाई समेत टक्कर दिइरहेको छ । यसका लागि पतञ्जलीको निकै राम्रो मिडिया रणनीति समेत प्रमुख कारण रहेको मिडिया रिपोर्टमा बताइएको छ । पतञ्जलीले मिडियाहरुमा निकै थोरै लगानी गरी अधिक र प्रभावशाली विज्ञापन रणनीति अपनाएको छ, यसले समेत पतञ्जलीको बजार बिस्तारमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । 

पतञ्जलीले बाबा रामदेवको प्रतिष्ठाको मात्र प्रयोग गर्दैन्, यसको साथमा आफ्नो उत्पादन प्राकृतिक हुने गरेको समेत दाबी गर्छ । यस्तै सन्देशयुक्त विज्ञापन प्रसारणका लागि यो कम्पनीले समाचार च्यानलहरुको बढी भन्दा बढी प्रयोग गरिरहेको छ । 

भिवरसीप मेनेजमेन्ट एजेन्सी इण्डियाका एक तथ्यांक अनुसार सन् २०१६ मा पतञ्जलीले टिभी च्यानलमा ११.४ लाख वटा विज्ञापन प्रसारण गर्यो । कम्पनीको विज्ञापन कुल ७ हजार २ सय २१ घण्टा टिभी च्यानलमा देखाइएको थियो । यो हिसाबले प्रतिदिन औसत सबै टिभी च्यानलमा गरेर १९ घण्टा ४३ मिनेट पतञ्जलीको विज्ञापन प्रसारण हुने गर्छ । 

पतञ्जलीको वार्षिक कमाई ५ हजार करोड रहेको छ । कम्पनीले चालु वर्षको अन्तसम्ममा यसलाई १० हजार करोडको उचाईमा पुर्याउने घोषणा गरिसकेको छ । मिडिया विज्ञको भनाईमा पतञ्जलीको यति लोभलाग्दो सफलताको पछाडि उसले अख्तियार गरेको जोडदार मिडिया रणनीति तथा क्याम्पेन मुख्य कारण रहेको छ । 

देत्सूू एजिस नेटवर्कका चेयरमेन तथा सीइओ आशिष भसीनका अनुसार पतञ्जलीको रणनीति निकै आक्रामक रहेको छ । पतञ्जलीले आफ्नो ब्राण्डलाई मात्र नभई वितरण प्रणालीलाई पनि मजबुुत बनाएको छ । पतञ्जलीको वितरण राम्रो छ । उनले भने–‘प्रोमोटर बाबा रामदेव नै यसको ठूलो ब्राण्ड एम्बेस्डर हुन् ।’ 

तर मिडियाको बिषयमा पतञ्जली आयुर्वेदकै सोंच चाहि केही फरक छ । कम्पनीका प्रवक्ता एस के तिजारावालाले भने–‘हामी केवल विज्ञापन मात्र दिंदैनौ, जानकारीले भरिएको विशेष अभियान नै संचालन गर्छौ ।’ 

पतञ्जलीको विज्ञापन खर्च यो जस्तै अन्य कम्पनीको तुलनामा मात्र ८ देखि १० प्रतिशतमा  सीमित छ । तिजारावालाले भने–‘हामी बाबा रामदेवले तय गर्नुभएको तीन सिद्धान्तमा रहेर काम गर्छौ । यसमा विश्वस्तरीय गुणस्तर, कम मूल्य तथा पूरा नाफा च्यारिटीमा दिने विषयसँग सम्बन्धित छ । हामी हाम्रो अभियानमा कुनै सेलिब्रेटीलाई खर्च गरेर हायर गर्दैनौ । स्वामी रामदेव आफैं उपभोक्तासँग सोझो वार्ता गर्नुहुन्छ । हाम्रो विज्ञापन र मार्केटिङमा वार्षिक कुल खर्च मात्र ३ सय करोड रहेको छ ।’ 

त्यसो भए पतञ्जलीलाई यति कम खर्चमा पनि अधिक प्रचारप्रसार चाहि कसरी प्राप्त हुन्छ त ? चाखलाग्दो बिषय यो छ कि सन् २०१६ मा गरिएको कुल विज्ञापनको ८४ प्रतिशत विज्ञापन मिडिया च्यानलमा चलेको थियो । विशेष रणनीतिकै कारण बाबा रामदेवले आफ्नो व्यापार र आफ्ना फ्यानहरुलाई एकसाथ मजबुतसँग जोडेर राख्ने सफलता प्राप्त गरिरहेका छन् । 

मेक्सस इण्डियाका म्यानेजिङ पार्टनर आनन्द चक्रवर्तीका अनुसार समाचार च्यानलमा बढी  मात्रामा विज्ञापन दिएर कम्पनीले टेडर्सको बीचमा विश्वास पैदा गरिरहेको छ । किनभने यी च्यानलहरु ट्रेडर्सले बढी हेर्छन् । यस अलावा बाबा रामदेवलाई समेत निकै धेरै मानिसले मन पराउँछन्, उनको साख समेत मजबुुत छ ।